
चितवन । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनैपनि घटनामा निर्दोष नफस्ने दोषीलाई उम्कन नदिन निर्देशन दिएको बताएका छन् ।
आज (शनिबार) प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले विभिन्न प्रकरणमा भइरहेका अनुसन्धानमा कुनै पनि हस्तक्षेप नहुने बताए । तथ्य र प्रमाणका आधारमा दोषीलाई प्रकाउ गरी थप अनुसन्धान गर्ने कार्यमा आफुले कुनै बाधा नगर्ने बताए ।
‘कुनै पनि अनुसन्धानमा प्रहरीलाई सरकारले हस्तक्षेप गरेको छैन र गर्ने पनि छैन ।,’ गृहमन्त्री श्रेष्ठले भने, ‘हामीले प्रहरीलाई फलानालाई ल्याउनू, फलानालाई नल्याउनू भनेका छैनौँ । हामी त्यस्तो कुरा गर्दैनौँ । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईंहरू काम गर्नुस् भनेका छौं । प्रहरीले त्यसैगरी कम गरिरहेको छ ।’
तथ्य र प्रमाणका आधारमा कारबाही प्रक्रिया अघि बढेको बताउँदै गृहमन्त्री श्रेष्ठले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताए ।
गृहमन्त्री श्रेष्ठले कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी दिए । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको जिकिर गरे ।











