Logo
Logo

सशस्त्र प्रहरीमा उत्साह, एकैपटक ६ हजारको बढुवा हुने



काठमाडौं । सशस्त्र प्रहरी बलमा हवल्दारदेखि प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी)सम्मको बढुवाको जाम खुलेको छ । जसअनुसार सशस्त्रमा एकैपटक करिब ६ हजार प्रहरीको बढुवा हुनेछ ।

सशस्त्र प्रहरी बल, नेपालले आइतबार सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म बढुवाको लागि सूचना प्रकाशित गरेको छ । केही पदहरु समायोजनको प्रक्रियाका कारण लामो समयदेखि बढुवा अवरुद्ध थियो । सरकारले केही पदहरु समायोजनको स्वीकृतदिएसँगै बढुवा अघि बढेको स्रोत बताउँछ ।

सशस्त्र प्रहरीको साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, बरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक, सहायक निरीक्षक, बरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि आइतबार एकै पटक सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशन भएसँगै आगामी साउनभित्र सबै पदमा बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ । एकैपटक ठूलो संख्यामा बढुवा हुने भएकाले यसबाट सशस्त्र प्रहरीका कर्मचारीको मनोबल बढ्ने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।

त्यस्तै, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा इन्जिनियरिङ्गतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक हवल्दार पदमा समेत बढुवाको लागि सूचना प्रकाशित गरिएको छ । आइतबार नै लेखा उप–समूहतर्फ पाँ जना र कानून उप–उपसमूहतर्फ एक जनाको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिससमेत भएको छ । आइतबार नै १ सय ९८ जना हवल्दारलाई बरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बढुवाको जाम खुलेसँगै २०६४ सालमा भर्ना भएको सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षकको टोली सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनेछन् । सो टोलीका केही अघिल्लो बढुवामा छुटेका थिए । २०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायव उपरीक्षकमा रहेकोमा अब उनीहरु पनि एसपीमा बढुवा हुनेछन् । त्यस्तै, जवानबाट हवल्दार हुन १५ वर्ष लाग्नेमा अब यस्तो समस्या हल हुने सशस्त्र प्रहरीका एक अधिकारी बताउँछन् । सहायक हवल्दारका केही पद थप गरिएको छ ।

सशस्त्र प्रहरीमा बढुवाको जामका कारण समस्या रहँदै आएको छ । हाल केही पदहरु समायोजन गरेर ठूलो संख्यामा बढुवा गर्न लागिएकाले अब त्यस्तो समस्या हट्ने सशस्त्र प्रहरी अधिकारी बताउँछन् ।

पछिल्लो समय सशस्त्र प्रहरी नेतृत्वले संगठनमा सुधारलाई प्राथमिकता दिएको छ । जसअनुसार एक सय ७५ दरबन्दी थप भएको र त्यसले बढुवाको जाम खुलाएको हो ।

प्रतिक्रिया दिनुहोस्