काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारत–एसँग ९ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य भारत–एले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो । भारतका अभिषेक शर्माले ८७, साई सुदर्शनले नटआउट ५८ रन बनाए । बलिङतर्फ नेपालका कप्तान रोहित पौडेलले १ विकेट लिए ।

श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३९ ओभर २ बलमा १ सय ६७ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए ।
रोहित ८५ बलमा ६५ रन बनाएर आउट भए । यस्तै गुलसन झाले ३८ रन बनाए । नेपालका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य, सोमपाल कामी १४, पवन सर्राफ ६ र ललित राजवंशी ३ रनमा आउट भए । यस्तै किशोर महतो २ रनमा नटआउट रहे ।
नेपालले १० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा रोहित र सोमपालले पारी सम्हालेका थिए । त्यसपछि छैटौँ विकेटका लागि रोहित र सोमपाल कामीले ५३ रनको साझेदारी गरेका थिए ।
बलिङतर्फ भारत–एका निशान्त सिन्धुले ४, आरएस हङ्गरगेकरले ३ र हर्षित रानाले २ विकेट लिए ।











