Logo
Logo

अप्रेसन चार्ली फोस्टर, काठमाडौंमा चिनियाँहरुको भागाभाग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं ९ पुस ।
काठमाडौंका विभिन्न स्थानबाट एक सय २२ जना चिनियाँ पक्राउ परेपनि पाँच सय भन्दा धेरै भागेका छन् । उनीहरुमाथि समेत प्रहरी निगरानी थालेको छ ।
तीन महिना तयारी गरेर यस्तो अप्रेसन प्रहरीले गरेको हो । जसमा चिनियाँ पक्ष समेत सहभागी थियो ।


१५ अक्टोबरदेखि चिलीमा भएको इन्टरपोलको ८८औं महासभाको बैठकमा नेपाल र चीनका सुरक्षा अधिकारीबीच सूचना आदान–प्रदान भएपछि नेपालमा शंकास्पद गतिविधिमा संलग्न चिनियाँ नागरिकमाथि निगरानी बढाइएको सिआईबीका डिआईजी निरज शाहीले बताए ।
चिनियाँ नागरिक पक्राउ परेको विषयमा जानकारी दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले आयोजना गरेको पत्रकार सम्मेलन आयोजना गरी उनीहरुबाट बरामद मोबाइल तथा ल्यापटपमाथि अनुसन्धान भइरहेको जनाएको छ । पत्रकार सम्मेलनमा प्रहरीले वितरण गरेको विज्ञप्तिमा इन्टरपोलको महासभामा चीन र नेपालका ‘नेशनल सेन्ट्रल ब्यूरो’ का प्रमुखहरूबीच यस विषयमा सूचना अदानप्रदान भएको उल्लेख छ। दुवै देशका यी ब्यूरोका प्रमुखहरूबीच अन्तरदेशीय साइबर अपराधमा संलग्न व्यक्तिहरूबारे सूचना आदान–प्रदान भएअनुसार नेपाल प्रहरीले थप अनुसन्धान गरेको विज्ञप्तिमा छ।

नेपाल प्रहरीको त्यस्तो अनुसन्धानबाट साइबर अपराधलगायत अन्य गैरकानूनी क्रियाकलापमा संलग्न हुन सक्ने आशंकामा काठमाण्डौंको तारकेश्वर नगरपालिका–१,मनमैजु, काठमाडौं महानगरपालिका–३, महाराजगंज र बुढानिलकण्ठ नगरपालिका–३, बुढानिलकण्ठका ९ वटा घरमा खोजतलास गरेको थियो। त्यसक्रममा प्रहरीले आठ महिलासहित १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको र उनीहरूबाट मोबाइल (७४७ वटा), ल्यापटप (३३१ वटा), सीपीयू (९८ वटा), मोनिटर (९९ वटा), पेनड्राइभ (२२ वटा), सीम कार्ड (३२७ वटा) र पासपोर्ट (६७ वटा) बरामद गरेको थियो।
पक्राउ परेकालाई अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाइएको छ । छुटेपछि उनीहरुलाई चीन निष्काशन गर्न तयारी छ । चीनले नेपालसहित मलेसिया, भियतनाम तथा कम्बोडियामा समेत यस्तो अप्रेसन गरेर दुई हजार जना चिनियाँलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्