Logo
Logo
कांग्रेस केन्द्रीय समिति बैठक

‘कोशी नामकरणबारे प्रस्ट धारणा नबनाउँदा कांग्रेसको राजनीति धरापमा पर्‍यो’


945
Shares

काठमाडौं । प्रदेश १ को नामाकरणबारे पार्टीले स्पष्ट धारणा नबनाउँदा प्रदेशमा कांग्रेसको राजनीति धरापमा परेको नेताहरुले बताएका छन् । मंगलबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले कोशी प्रदेश नामकरणबारे पार्टीले आधिकारिक धारणा बनाउनुपर्ने बताएका हुन् ।

बुधबार बैठकमा बोल्ने केही नेताहरुले पार्टीले प्रस्ट धारणा नबनाउँदा सो प्रदेशमा पार्टीको राजनीति जोखिममा परेको भन्दै चुनौतीसमेत दिए । उनीहरुले प्रदेशको नामकरणका विषयमा पार्टीले प्रस्ट धारणा बनाएर समस्याको समाधान दिनुपर्ने माग गरे ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले कोशी नामकरणमा कांग्रेस ओलीको पछि–पछि लागेको आरोप लगाए । उनले भने, ‘६ प्रदेशले नाम राखे, त्यहाँ समस्या छैन । तर, प्रदेश १ को नामको विषय अहिलेसम्म एउटा समस्याकै रुपमा छ । प्रदेश १ को नामकरणको विषयमा कांग्रेस बोलेन, किनकि त्यहाँ कांग्रेस छैन, नभए किन बोलेन ? कांग्रेस त ओलीको लहैलहैमा पछिपछि लाग्यो र प्रदेशको नाम कोशी राखियो ।’

प्रदेशको नामकरणको विषयलाई लिएर अहिले कोही पनि नेताहरू गाउँ जान सक्ने अवस्था नरहेको उनको भनाइ थियो । ‘प्रदेशको नाम कोशी राखियो, तर, त्यसमा जनता खुसी छैनन्’ उनले भने, ‘आज कोही पनि नेता गाउँ जान सकेको छैन । कांग्रेस किन चुप लागेको हो ?’

केन्द्रीय सदस्य नैनसिंह महरले पनि कोशीको नामकरणको विषयमा पार्टी गम्भीर नभएको भन्दै प्रश्न गरेका थिए । उनले भने, ‘प्रदेशको कोशी नामकरणको विवाद निकै चर्किएको छ । तर, हाम्रो पार्टीको धारणा प्रस्ट छैन, यो बैठकले त्यसबारे धारणा बनाओस् ।’

प्रतिक्रिया दिनुहोस्