
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन विमानस्थलको निरीक्षण गरेका छन् ।
बुधबार हवाई मार्ग हुँदै सय केजी सुन बरामद भएपछि मन्त्री श्रेष्ठ आज शुक्रबार बिहान आईजीपी वसन्त कुँवर र महानगरीय प्रहरी कार्यालय प्रमुख एआईजीपी श्यामलाल ज्ञवालीलाई लिएर विमानस्थल निरीक्षणमा पुगेका हुन् ।
सो क्रममा उनले विमानस्थल भन्सार र अन्तर्राष्ट्रिय आगमन क्षेत्रमा समेत अनुगमन गरेका छन् । त्यस क्रममा गृहमन्त्री श्रेष्ठलाई भन्सार विभागका उपसचिव नारद गौतमले सामान जाँचपास हुने क्षेत्र र जाँचपासको विधिसहित विषयमा ब्रिफिङ गरेका थिए ।
करिब एक अर्ब रुपैयाँको सुन बरामद भएपछि उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार भन्सार विभागका महानिर्देशक शोभकान्त पौडेलसँग सोधपुछ गरेका थिए । उनले विमानस्थल सुरक्षाको विषयलाई लिएर वर्तमान पूर्व प्रहरी अधिकारीहरुसँग पनि छलफल गरेका थिए ।
अर्थ र गृहमन्त्रालय मातहतको विमानस्थलबाट एक क्विन्टल अवैध सुन भित्रिएको विषयमा श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको आलोचना भइरहेका बेला उनी विमानस्थल अनुगमनमा निस्किएका हुन् ।














