
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीहरूले पेश गरेको प्रस्ताव एनजीओको ‘विसलिस्ट’ जस्तो रहेको टिप्पणी गरेका छन् । केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोल्दै उनले कांग्रेस देशको एजेण्डा सेट गर्ने पार्टी भएपनि महामन्त्रीहरूको प्रस्तावमा त्यस्तो दुरगामी एजेन्डाहरू नआएको बताएका हुन् ।
‘कांग्रेस भनेको यो देशमा एजेन्डा सेट गर्ने पार्टी हो । नेपालको अर्थतन्त्र कस्तो हुने, समाजलाई कता लैजाने, राजनीतिलाई कुन दिशातिर लैजाने भन्ने एजेन्डा सेटिङ गर्ने पार्टी हो । तर यसपटकको महामन्त्रीहरूको प्रतिवेदनमा देशलाई दरगामी असर राख्ने त्यस्तो एजेन्डा देखिएन,’ उनले भनिन्, ‘महामन्त्रीहरूको प्रतिवेदनचाहिँ एउटा राजनीतिक दस्तावेज हुन्छ होला भन्ने सोचेको थिएँ, तर उहाँहरूले ल्याउनुभएको प्रस्ताव राजनीतिक दस्तावेज भन्दा पनि एउटा एनजीओको ‘विसलिस्ट’ जस्तो लाग्यो ।’
उनले धेरै कार्यक्रम गरेर थोरै उपलब्धि प्राप्त हुनुभन्दा थोरै कार्यक्रम गरेर धेरै उपलब्धि लिने उद्देश्य लिनुपर्ने बताए । ‘धेरै कार्यक्रम गर्ने योजनाहरू आए । तर ती कार्यक्रमको उपलब्धि के हो ? त्योचाहिँ प्रष्ट छैन । बरु तीन चार वटा कार्यक्रम गरौं, ठोस कार्यक्रम गरौं भन्ने मेरो प्रस्ताव छ,’ उनले भनिन् ।
उनले मुलुकमा सुशासन कायम गर्ने विषयमा पार्टीका नेताहरू पूर्वप्रशिक्षित हुनुपर्ने बताइन् । ‘म प्रधानमन्त्रीको धर्मपत्नी भएर ४÷५ पटक उहाँसँगै देशमा के–के हुन्छ, देखेको छु । हाम्रा मन्त्रीहरू मन्त्री भएर जानुहुन्छ, तर सिक्दा–सिक्दै ठीक्क हुन्छ । त्यसैले कुन मन्त्रालयको ड्युटी के हो ? के भइरहेको छ, के गर्नुपर्ने हो ? यसबारे हामीले पार्टीमै छलफल गरेर पूर्वतयार हुनु आवश्यक छ,’ उनले भनिन् ।














