काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चार दिनदेखि जारी छ । मंगलबार सुरु भएको बैठक शुक्रबार पनि बसिरहेको छ । जारी बैठकमा केन्द्रीय सदस्य प्रदीप पौडेलले एक व्यक्तिलाई ४ पटकभन्दा बढी संघीय संसदको टिकट दिन नहुने प्रस्ताव अघि सारेका छन् ।

पार्टी कार्यालय सानेपामा बसिरहेको बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै पौडेलले सो प्रस्ताव गरेका हुन् । साथै, उनले सबै तहमा प्राइमरी निर्वाचनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
नेता पौडेलले भने, ‘सबै तहमा प्राइमरी इलेक्सनको व्यवस्था गरौं । पार्टीको एउटा व्यक्तिलाई कतिपटक टिकटको व्यवस्था दिने ? एउटा व्यक्तिलाई ४ पटकभन्दा संघीय संसदको टिककको मौका दिनु हुँदैन ।’ उनले प्रदेशमा २ पटकको व्यवस्था हुनुपर्ने धारणा राख्दै पार्टीबाट सरकारमा नेतृत्व गर्दैगर्दा दोहोर्याएर समानुपातिकको प्रतिनिधित्व हुन नहुने बताए ।
उनले मन्त्री, मुख्यमन्त्री, प्रदेशमन्त्री दुईपटकभन्दा बढी हुन नपाउने व्यवस्थ लागू गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।














