
काठमाडौं, ११ पुस । आजको १ बजे बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । विशेष कारणले बैठक स्थगित भएको संसद सचिवालयले जनाएको हो । अर्को बैठक पुस १६ मा बस्ने सूचना जारी गरिएको छ ।
आजको बैठकमा समामुखका लागि निर्वाचनको मिति तोक्ने कार्यसूची थियो । तर, सभामुखका लागि सत्तारुढ दल नेकपाभित्रै सहमति जुट्न नसकेपछि बैठक रोकिएको छ ।
रिक्त समामुख पदमा पूर्वएमाले र पूर्वमाओवादी दुवै पक्षको दाबी गर्दै आएका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि सचिवालयकै कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोपमा जेल गएपछि उक्त पद रिक्त छ । उपसमुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखमा दाबी गर्दै आएकी छन् । एउटै दलको सभामुख र उपसभामुख बन्न नपाउने संवैधानिक व्यवस्था छ । त्यसैले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर उक्त पदमा अन्य दलकालाई ल्याउने र सभामुखमा आफैले राख्ने नेकपाको सोच रहेको छ ।
नेकपाको आग्रहमा उपसभामुख तुम्बाहाम्फेले आजै राजीनामा दिने तयारी गरेकी छन् । तर, सभामुखमा भने नेकपाका अध्यक्षबीच सझै सहमति हुन सकेको छैन ।












