
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने गरी अहिलेबाटै तयारी थाल्नुपर्ने बताएका छन्।
पार्टी कार्यालय सानेपामा मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। उनले अघिल्लो चुनावमा गठबन्धनबारे ठिक बेठिक भनेर अल्मलिने समय नभएको पनि बताए।
‘कांग्रेसले गठबन्धन गरेर ठिक वा बेठिक गर्यो भनी अब बस्ने समय छैन। आगामी निर्वाचनहरु कांग्रेसले एक्लै लड्ने तयारी आजबाटै गर्नेछौँ भनी शपथ खानु पर्नेछ’, उनले भने, ‘किनकी गत निर्वाचनबाट हामीले प्राप्त गरेको पपुलर मत विभाजित कम्युनिष्ट पार्टीभन्दा पनि कम छ।
कोइरालाले गत आमनिर्वाचनमा गठबन्धन गरेर कांग्रेस संसदभित्र ठुलो दल भए पनि सरकारको नेतृत्व हातमा नआएको बताए ।कोइरालाले सरकारको कामकाज समीक्षा र प्रभावकारितावारे अहिले भनिहाल्नुपर्ने समय नभएको पनि बताए ।
नेता कोइरालाले विभिन्न कारणले कांग्रेसको मूलधारबाट अलग्गिएका र छेउ किनारामा पुगेकाहरुलाई सम्मानजनक रुपमा घर फर्कने बाटो खोलिनुपर्ने बताए।














