
बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले धेरै राम्रो पक्ष रहेको दाबी गरेका छन् । मौद्रीक नीतिमा बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताएका हुन् ।
आज (सोमबार) बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पोलिसी रेट ६.५ प्रतिशत तोक्दा बैंकले ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुँजी प्रवाह बढ्ने जिकिर गरे । यस्तै जग्गा कारोबार पनि सहज हुने उनको भनाई थियो ।
आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन पक्राउ परेको दाबी गर्दै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने ढुक्क हुन आग्रह गरे ।
नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले पार्टी बैठकमा एउटा कुरा गर्ने अनि बाहिर आएर अर्को हङ्गामा गर्ने भएकाले पार्टी सभापतिले बैठक लाइभ गर्ने निर्णय गरेको बताए । पार्टीको बैठक लाइभ गर्ने निर्णयले अहिले राम्रो भएको उनको भनाई थियो । तर सधैँ गर्ने नगर्ने भन्ने बारे भने आवश्यकता अनुसार निर्णय गरिने उनले बताए ।














