
काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको छ ।
उक्त रिट सुनुवाइका लागि आइतबार न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा पेशी तोकिए पनि न्यायाधीशले हेर्न नमिल्ने भएका कारण सुनुवाइ हुन सकेको थिएन । आजका लागि दोस्रो नम्बरमा पेशी तोकिएकाले सुनवाइ हुने सम्भावना छ ।
यसअघि असार २७ गते न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै आइतबारका लागि सुनुवाइको मिति तोकिएको थियो ।
कोशी प्रदेशमा कांग्रेस नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्ति गरेको भन्दै उक्त नियुक्ति बदर गर्न माग गर्दै पूर्व मुख्यमन्त्री एवं एमाले नेता हिकमत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् । सर्वोच्चले मुख्यमन्त्री नियुक्ती गर्दाका सक्कलै फाइल झिकाउँदै प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।
न्यायाधीश सपना प्रधान मल्लको इजजासले थापालाई मुख्यमन्त्री बनाउन गरिएको प्रस्ताव, समर्थन, दाबी र हस्ताक्षर लगायतका सम्पूर्ण कागजातसहित प्रदेश प्रमुखको असार २१ को निर्णयको सक्कल फाइल साउन ३ गतेभित्र झिकाउन आदेश दिएको थियो।
प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर जोडेर बहुमत देखाएर कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गर्दै एमालेले असार २९ गते रिट दायर गरेको थियो।














