काठमाडौं, १३ पुस ।
सभामुख चयन र एमसिसी विवादबारे निर्णय गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिना कुनै निर्णय टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा छलफल गर्ने एजेन्डा थियो ।

नेकपा महासचिव विष्णु पौडेलले समय अभावले बैठक विषयमा प्रवेश गर्न नपाएको बताए। ‘समय अभावले आजको बैठकमा विषयमा प्रवेश गर्न पाएनौं,’ पौडेलले बैठकबारे जानकारी गराउँदै भने, ‘अर्को बैठक चाँडै बस्छ।’ सभामुख चयन, राष्ट्रियसभा निर्वाचनलगायतका विषय बैठकको एजेन्डामा रहेको उनले जानकारी दिए।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश न. ३ को राजधानी र नाम टुंगो लगाउने विषय पनि बैठकको एजेन्डामा थियो। गोरखा भएका कारण उनी आजको बैठकमा अनुपस्थित थिए।
गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसिसी)बारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो । यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको थियो । तर, त्यस विषयमा छलफल हुन सकेन ।
कसलाई सभामुखको उम्मेदवार बनाउने बारे नेकपाभित्र विवाद छ । सुवास नेम्वाङ र अग्नि सापकोटाबीच सभामुख बन्ने प्रतिस्पर्धा छ।
आइतबारको बैठकदेखि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई सँगै कुर्सी राखिएको थियो ।












