Logo
Logo

ओलीको ‘हावा शैली’: फेसबुक हेरेर पत्रिकालाई गाली




काठमाडौं । कम्बोडियाको भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष केपी ओली मंगलबार बिहान विमानस्थलमा जंगिए । उनको आक्रोश गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा नयाँ पत्रिका दैनिकमाथि थियो ।


पछिल्लो सुन तस्करी प्रकरणमा आफुलाई जोड्न खोजेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् । दुई पटक प्रधानमन्त्री भइसकेका ओलीका जत्तिका नेतासमेत कसरी सामाजिक सञ्जालका गलत सूचनाबाट प्रभावित बनी वास्तविकता नबुझी बोल्दा रहेछन् भन्ने यो घटनाले प्रष्ट भयो ।


गृहमन्त्रीमाथि आक्रोश व्यक्त गर्नुको कारण गत शुक्रबार विमानस्थलमा अनुगमनपछि पत्रकारसँग बोल्दै उनले तीन ‘ब’ ले सुन तस्करीको अनुसन्धान प्रभावित गर्न नसक्ने बताएका थिए । बालुवाटार, बुढानिलकण्ठ तथा बालकोटकै मान्छे जोडिए पनि तस्करीमा संलग्न कोही नजोगिने गृहमन्त्रीको भनाई थियो । जतिसुकै पावरफुल व्यक्ति भएपनि नबचाइने उनको भनाईको आशय थियो । पत्रकारहरुले तस्करीमा संलग्नहरुको उच्च राजनीतिक नेतृत्वसँग सम्बन्ध रहेको विषयमा प्रश्न गर्दा उनले त्यसो बताएका थिए । आफुलाई सो प्रकरणमा गृहमन्त्रीले जबरजस्ती मुछन् खोजेको भन्दै ओलीले मंगलबार आक्रोश मात्र व्यक्त गरेनन् उल्टो सुन तस्करीमा गृहमन्त्री नै संलग्न हुनसक्छन् भनेर आरोप समेत लगाएदिए ।

पत्रिकाको समाचारसँग यसरी फोटो जोडेर भाइरल गरिएको थियो, तर ओलीले वास्तविकता नबुझी पत्रिकालाई गाली गरे।


दोस्रो आक्रोश उनको नयाँ पत्रिका दैनिकमाथि थियो । सुन तस्करीमा संलग्न भनिएका व्यवसायी दीपक मल्होत्राले आफुसँग खिचेको फोटो छापेको भन्दै उनले पत्रिको चर्काे आलोचना गरे । तर, सो पत्रिकाले यो प्रकरणमा मल्होत्रा र ओलीको फोटो छापेको छैन । तस्करीमा मल्होत्राको संलग्ना देखिएको भन्दै उनको मात्र फोटो छापेको छ । पत्रिको त्यही समाचारमा ओली र मल्होत्रा सँगै भएको अर्काे फोटो राखेर सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो । मल्होत्रा ओली निकट व्यक्ति भएको देखाउन अन्य दलका कार्यकर्ताले सामाजिक सञ्जालमा त्यस्तो भाइरल बनाएका थिए । ओलीलाई लागेछ–नयाँ पत्रिकाले नै यसरी मल्होत्रासँग मेरो फोटो छापेर सुन तस्करीमा मलाई मुछेको हो । यो प्रकरण ओली सो पत्रिकाको आलोचना गर्दै पत्रिका गृहमन्त्रीको भएको समेत बताए । हुँदै नभएको कुरामा यस्तो गम्भीर आरोप लगाएपछि एमालेकै कार्यकर्ता समेत ओलीको भाषण सुनेर अचम्मित भएका छन् ।


यो प्रकरणले कुनै विषयमा ओली कति हचुवा र अल्पज्ञानका भरमा बोल्छन् भन्ने प्रष्ट भएको छ । मंगलबारको भाषण सुन्दा गृहमन्त्रीविरुद्ध कार्यकर्तालाई उनले नै सडकमा पठाएको प्रष्ट हुन्छ । पछिल्लो समय लोकप्रिय काम गरिरहेका गृहमन्त्रीविरुद्ध आन्दोलन गर्दा उल्टो एमालेको आलोचना भएको थियो । यसले ओलीको टिम समेत कति कमजोर छ भन्ने उजागर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्