काठमाडौं। निर्वाचन अयोगले निर्वाचन खर्च विवरण नबुझाउने उमेदवारहरूलाई कारबाही गरेको छ ।
खर्च विवरण नबुझाउने प्रतिनिधिसभाका एक हजार ३७ र प्रदेशसभातर्फका एक हजार ३९८ गरी दुई हजार ४३५ उमेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना तोक्ने निर्णय गरिएको आयोगले जनाएको छ ।

जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचर सहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिने निर्णय पनि भएको छ ।
निर्वाचन खर्चको विवरण सात दिनभित्र सार्वजनिक गरी सोको जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा सात दिनभित्र निवेदन सहित पेश गर्न पुनः आदेश दिने निर्णय पनि भएको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, जरिवाना बापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारहरूलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना बापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय पनि भएको छ ।














