
रुपन्देही । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विकका विश्वासपात्रका रूपमा कार्यरत घुमुवा प्रहरी र अङ्गरक्षकले भारतसँगको सीमावर्ती नाकाहरूबाट खुलेआम तस्करीको लाइन दिएका छन् ।
तस्करहरूसँगको मिलेमतोमा एसपी विकलाई समेत गलत रिपोर्टिङ गर्दै उनीहरूले तस्करीको लाइन खुलाएर कमाऊ धन्दा चलाएका छन् । प्रहरीसँगको मिलेमतोमा लाइन खुलेपछि तस्करहरू खुलेआम अवैध सामान ओसारपसार गरिरहेका छन् ।
एसपी विकले विवादास्पद छवि बनाएका प्रहरी जवान वीरेन्द्र आरसीलाई घुमुवा खटाएका छन् । काठमाडौं दरबन्दी भएका आरसीलाई यसअघि ०७६ मा रुपन्देहीका (एसपी) हेमकुमार थापाले आर्थिक लेनदेन गरेको आरोपमा प्रहरी नियमावली २०७१ (संशोधन सहित)अनुसार नसिहत नै दिएका थिए ।
तत्कालीन एसपी थापाकै नाममा तस्करहरूसँग पैसा असुलेको आरोपमा प्रहरी जवान शंकरराज गिरीसहित आरसीलाई त्यति बेला विभागीय कारबाही गरिएको थियो । गिरी अहिले प्रहरी हवलदार भइसकेका छन् । यति बेला उनी अर्घाखाँचीमा कार्यरत छन् ।
उक्त समूहले नै तस्करहरूसँग भेट्ने र अवैध समान पास गर्न सहजीकरण गर्ने गरेको आरोप सहितको उजुरी प्रहरी प्रधान कार्यालयमा पुगेपछि रुपन्देही प्रहरीले छानबिन गरेको थियो । छानबिनका क्रममा उनलाई कारबाहीसमेत भएको थियो । आरसी यसअघि पनि पटक पटक घुमुवामा बसेका प्रहरी हुन् । २०७५ सालदेखि घुमुवा बसेका उनलाई २०७६ मा तत्कालीन एसपी थापाले हटाएर कारबाही गरेका थिए ।
आरसी पाँच वर्षयता ३ पटक घुमुवामा बसिसकेका छन् । घुमुवाको जिम्मेवारीमा रहँदा बारम्बार विवादमा आइरहने उनलाई एसपी विकले पुनः घुमुवाकै जिम्मेवारी दिएर संरक्षण गरेको आरोप लाग्ने गरेको छ ।
आसरीले पछिल्लो समय कार्यालयमा आफू बिरामी भएकोले ड्युटी गर्न नसक्ने जानकारी गराएका थिए । ढाडमा समस्या देखाएर नियमित ड्युटीबाट उन्मुक्ति पाएका उनले पछिल्लो समय भने एसपी विककै संरक्षणमा घुमुवाको जिम्मेवारी पाएका छन् । घुमुवाको जिम्मेवारी पाएपछि आरसीको ढाड दुख्ने समस्या च्याट्टै निको भएको छ । उनी मोटरसाइकलमा तस्करहरूसँग भेटघाटमा व्यस्त रहन्छन् ।
धेरै पटक घुमुवा बसेको र त्यस क्रममा नराम्रो रेकर्ड बनाएका आरसीलाई अहिले घुमुवाको जिम्मेवारी दिने सन्दर्भमा एसपी विकका अङ्गरक्षक प्रहरी हवलदार कमल थापाले भूमिका खेलेका छन् । अङ्गरक्षक थापाको जोड बलमा एसपी विकले विगतको रेकर्ड नै नहेरी आरसीलाई घुमुवाको जिम्मेवारी दिएका हुन् ।
विगतदेखि नै घुमुवामा काम गरेका आरसीलाई नै पुनः घुमुवाको जिम्मेवारी दिए कमाऊ धन्दा झनै सहज हुने बुझाइका साथ हवलदार थापाले एसपी विकलाई घुमुवा राख्न जोड गरेका थिए ।
अङ्गरक्षकको रूपमा सँगसँगै हिँड्ने हवलदार थापाले एसपीलाई नै गुमराहामा राखेका छन् । एसपीको बर्डिगार्डको पावर देखाउँदै आएका हवलदार थापा ठेकिएको दरबन्दीमा समेत नगई मातहत र इन्चार्जसँग मिलेर असुली गर्ने गरेको स्रोतले बताएको छ ।
एसपी विकका अङ्गरक्षक रहेका हवलदार थापाले मातहतका कार्यालय र चौकीका इञ्चार्जहरुसँग समेत सेटिङ मिलाएका छन् । एसपी विक निरीक्षण लगायतका लागि निस्कँदा उनै थापाले सम्बन्धित कार्यालयका इञ्चार्जहरुलाई सूचना दिने गरेको पाइएको छ । उनले एसपीको लोकेसन समेत उनीहरूलाई पठाउने गरेको आरोप छ ।
यसरी एसपीसँगै हिँडेर एसपीकै सूचना चुहावट गर्दै आएका हवलदार थापाले सूचना दिएबापत सम्बन्धित कार्यालय र चौकीहरूका इञ्चार्जहरुबाट रकम लिने गरेका छन् । हवलदार थापाले यसअघि तत्कालीन प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको अङ्गरक्षकको रूपमा काम गरिसकेका छन् ।
रुपन्देहीका एसपी विकले प्रहरी सहायक निरीक्षक पवन जिसीलाई घुमुवा प्रहरीको कमान्डर तोकेका छन् । आफ्नो पीएसओका रूपमा खटिएका जिसीलाई एसपी विकले घुमुवाको कमान्डर बनाएका हुन् । उनले एक महिनादेखि घुमुवा कमान्डरको जिम्मेवारी सम्हालिरहेका छन् ।
एसपीबाट घुमुवाको जिम्मेवारी पाए पनि आफू घुमुवामा नरहेको भन्दै आएका जिसी उनै विवादित घुमुवा आरसीसँगै भेटिन्छन् । जिसीले आरसी र अर्को घुमुवा प्रहरी जवान चिरन गुरुङलाई तस्करीको लाइन मिलाउन परिचालन गर्दै आएका छन् । गुरुङलाई जिसीले नै कारागारबाट तानेर घुमुवामा खटाएका हुन् ।
रुपन्देहीका इन्चार्ज एसपी विकलाई नै गुमराहमा पारेर मातहतका घुमुवा र अङ्गरक्षकले तस्करीको लाइन खोल्दा नेपाल–भारत सीमाबाट तस्करी मौलाएको छ । तस्करीको लाइन खुल्दा पछिल्लो समयमा भारतबाट अधिक मात्रामा गहुँ र चिनी अवैध रूपमा नेपाल भित्रिएको छ ।
तस्करीको लाइन सहज भएपछि भारतबाट नेपालतर्फ कुखुरा, धान, चिनी, गहुँ, किराना र हार्डवेरका सामान व्यापक मात्रामा अवैध रूपमा भित्रिरहेको छ । यी वस्तुहरू नेपालभन्दा भारतमा सस्तो पर्ने भएकाले भारतबाट नेपालतर्फ तस्करी हुने गरेको हो ।
त्यसै गरी, नेपालबाट भारततर्फ मदिरा, कपडा, केराउ, दाल र छोकडा लगायतका सामग्री व्यापक मात्रामा तस्करी हुँदै आएको छ । भारतमा मदिरामा बन्देज लागेका कारण तस्करहरूले लाइन मिलाएर नेपालबाट भारततर्फ तस्करी गर्दै आएका छन् ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले अवैध चोरी–पैठारी र तस्करी नियन्त्रण गर्न रुपन्देहीका प्रहरी प्रमुख एसपी विकलाई विभागीय आदेश दिइसकेका छन् । र, एसपी विक पनि जिरो टोलरेन्स भन्दै आएका छन् । तर, उनी मातहतकै घुमुवा र अङ्गरक्षकले तस्करीको लाइन खुलाएकोबारे भने उनी बेखबर जस्तै छन् ।














