
काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले बाराको कलैया बजार बन्दको आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा परिसरमा काँग्रेसका जिल्ला सचिव भैयाराम यादव र एकीकृत समाजवादीका जिल्ला उपसचिव ध्रुव प्रसाद यादवमाथि कुटपिट भएको थियो ।
कुटपिटमा संलग्न प्रहरी अधिकारीलाई कारबाही नगरिएको भन्दै काँग्रेस र एसका कार्यकर्ताले सडकमा टायर बालेर, यातायात र पसलहरू बन्द गराउँदै हिडेका हुन् । कलैया बजार क्षेत्रमा मोटरसाइकल समेत चल्न दिइएको छैन ।
यता, जिल्ला प्रहरी कार्यालयले बजार र यातायात बन्द गराउन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच कलैया बजारमा तनावको अवस्था सृजना भएको छ ।
सवारी दुर्घटनाको विषयलाई लिएर साउन २ गते भइरहेको छलफलका क्रममा भैयाराम र ध्रुवमाथि प्रहरी अधिकारीले कुटपिट गरेको आरोप लागेको थियो ।
कुटपिटको आरोप लागेका प्रहरी नायब निरीक्षक पुरुषोत्तम प्रसाद पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई जिम्मेवारीवाट हटाई अन्यत्र पठाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण पोखेलको संयोजकत्वमा साउन ५ गते छानबिन समिति बनाएको थियो । उक्त समितिले समेत छानबिन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयले भने सूचना जारी गरेर बजार बन्द नगराउन आन्दोलनरत पक्षसँग आग्रह गरेको छ ।














