
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले एक सय किलो सुन बरामत प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुपर्ने बताएका छन् ।
त्रिभुवन विमानस्थलको भन्सारबाट पास भएर बाहिरिसकेको अवस्थामा आन्तरिक राजस्व अनुसन्धान विभागको टोलीले करिब एक क्विन्टल सुन बरामत गरेको विषयमा प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीले जानकारी गराउनुपर्ने बताएका हुन् ।
कांग्रेस सांसद रामहरि खतिवडाले सुन तस्करी प्रकरणबारे गृहमन्त्री जवाफ मागिने जानकारी दिए । विमानस्थलमा सर्वसाधारणले सानो तिनो चिजविज ल्याउदा थाहा पाउने तर सय किलो सुन बाहिर आउँदा कसरी कसैले थाहा नपाएको भन्ने प्रश्न उठेको उनले बताए ।
‘सुरुमै गृहमन्त्रीले समय लिएर जानकारी गराउनुपर्छ । सय डलर मोजाभित्र हालेर ल्याएको साधारण मानिसले पुलिसले अनुसन्धान प्रक्रियाबाट थाहा हुने, सानो कागज बोके थाहा हुने १ एक सय केजी सुन आउँदा बाहिर कसैलाई थाहा नहुने ? झन् पुलिस त अनभिज्ञ छ । यो विषय पार्टीको तर्फबाट म उठाउछु,’ उनले भने, ‘गृहमन्त्रीको जवाफ माग हुन्छ । उहाँको जवाफ चाहिन्छ,’ खतिवडाले भने ।
प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै छ । आजको बैठकलाई नेकपा (एमाले)ले पनि सोही विषयलाई लिएर गृहमन्त्रीको जवाफ माग गर्दै संसद अवरोध गर्ने तयारी गरेको छ ।














