काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौता कार्यान्वयनको अवस्थाबारे सरकारसँग जवाफ मागेको छ । एकीकृत समाजवादीको हालै सम्पन्न सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसीबारे भएगरेका कामबारे सरकारसँग जवाफ माग्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

सम्झौताको कार्यान्वयनमा व्याख्यात्मक घोषणाअनुरुप नेपालको हित र रक्षाको प्रत्याभूति गर्न संसदीय अनुगमन समिति गठनका लागि आवश्यक पहल गर्ने पनि निर्णय गरिएको खतिवडाले बताए ।
उनले त्यसको निरन्तर जानकारी लिने प्रयोजनका लागि पार्टीका तर्फबाट समेत अनुगमन समिति बनाउने सचिवालयले निर्णय गरेको उनको भनाइ छ । एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध सरकारी सक्रियताले जनतामा आशा जगाएको ठहर गरेको छ ।














