Logo
Logo

राष्ट्रियसभामा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ टेबुल


882
Shares

काठमाडौ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० बैठकमा टेबुल भएको छ । सभाका सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गरेका हुन् ।

सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित विधेयक पारित गरेको थियो । सो संशोधन राष्ट्रियसभाले स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि अघि बढ्नेछ ।

विधेयक टेबुल गर्नुअघि मन्तव्य दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी अध्यादेशको अवधि सकिएकाले पीडितको न्यायका लागि अर्को केही नेपाल ऐन संशोधनका रुपमा विधेयक ल्याउनुपरेको हो भने ।

अनुचित लेनदेनलाई कानुनको दायरामा ल्याउन विधेयकको अत्यावश्यकता रहेको स्पष्ट गर्दै उनले आगामी दिनमा अध्यादेशको अवधि हुँदै प्रतिस्थापन विधेयक ल्याउने विश्वास दिलाए । बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले विधि निर्माणका प्रक्रियामा संविधानबमोजिमका प्रावधान र समयावधिको पालना गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराए ।

सभामा प्रमुख प्रतिपक्षीले अवैध सुन ल्याइएको विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै उक्त विधेयकबाहेक अन्य कारबाही सञ्चालन नगर्न ध्यानाकर्षण गराएपछि राष्ट्रियसभा अध्यक्ष तिमिल्सनाले बैठक असार १८ गत बस्नेगरी स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्