
काठमाडौं । देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । कोसी, वाग्मती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोसी र लुम्बिनी प्रदेशसहित देशका बाँकी पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यसकारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।














