
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार रहेको बताएका छन् ।
सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहालीका लागि विराटनगर पुगेको कार्कीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेससँग मिलेर सरकार गठन गर्न एमाले तयार रहेको बताएका हुन् ।
‘प्रदेशको समृद्धिको लागि एमाले बाधक हुँदैन । कांग्रेसलाई मुख्यमन्त्री दिन हामी तयार छौं । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा म सहमत छैन,’ उनले भने ।
सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाली कांग्रेस संसदीय दलका नेता थापालाइ मुख्यमन्त्री नियुक्ति गरेपछि कार्की पदमुक्त भएका थिए ।
तर, सर्वोच्च अदालतको बिहीबारको फैसलाले थापाको नियुक्ति असंवैधानिक भन्दै नियुत्ति बदर गरेपछि अर्को सरकार गठन नभएसम्मका लागि कार्की काम चलाउ सरकारको मुख्यमन्त्रीका रूपमा पुनर्वहाली भएका हुन् । उनले आजै कामचलाउ मुख्यमन्त्रीको रुपमा कार्यभार सम्हाल्दैछन् ।














