
काठमाडौं । सर्वोच्च अदालतले ८ महिनाका बालकलाई गलत खोप लगाएको मुद्दामा पीडितलाई ३० लाख क्षतिपूर्ति दिन कान्ति बाल अस्पतालका नाममा आदेश जारी गरेको छ ।
श्वासप्रश्वासमा समस्या भएर २०७३ साल असार २२ गते कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पु¥याइएका बालक आलोक बराललाई गलत खोप दिँदा क्षति पुगेको भन्दै न्यायाधीशद्धय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त रकम भराउन आदेश दिएको हो ।
शम्भु विक नामका अर्कै बालकका लागि तयार पारिएको उक्त खोप आलोकलाई लगाइएको थियो । त्यसपछि बच्चामा सास फेर्न गाह्रो हुनु, दिसा, पिसाब चुहिनु जस्ता लक्षणहरु देखिएपछि आलोकलाई गलत (मेनेन्जाइटिस मलेरियाको खोप)लगाएको पुष्टि भएको थियो ।
त्यसपछि पीडित बालकका बुबा ध्रुवकुमार विश्वकर्माले अर्कै बालकका लागि तयार पारिएको मेनेन्जाइटिस मलेरियाको खोप आफ्नो बच्चामा लगाउँदा उनको स्वास्थ्यमा क्षति पुगेको भन्दै उजुरी गरेका थिए ।














