कास्की । जनता समाजवादी पार्टी (जसपा)ले तमुवान मगरात आन्दोलन जागरण अभियान गठन गरेको छ । पहिचानमा आधारित प्रदेश संरचना निर्माणका लागि दबाब सिर्जना गर्न उक्त अभियान थालिएको जसपाले जनाएको हो ।

शनिबार पोखरामा सम्पन्न मगरात राष्ट्रिय समितिको विस्तारित बैठकबाट नरेश थापाको संयोजकत्वमा अभियानको घोषणा गरिएको हो । अभियानको सदस्यहरुमा मगरात राष्ट्रिय समितिका पदाधिकारीहरु, मगरात राष्ट्रिय समिति अन्तर्गतका प्रदेशस्तरीय भ्रातृसंगठनका प्रतिनिधिहरु, जिल्लास्तरीय पार्टी तथा भ्रातृसंगठनका प्रतिनिधिहरु रहने छन् ।
साथै, विस्तारित बैठकबाट सुस्मिता थापालाई मगरात राष्ट्रिय समितिको संयोजक चयन गरिएको छ । समितिको सदस्यहरुमा जगतकाजी गुरुङ, अर्जुन गुरुङ, इन्द्रबहादुर छन्त्याल, बसन्त थापा मगर, रविन्द्र थापा, थकाली गुरुङ, नरेश थापा, निशा गुरुङ र भलबहादुर थापा मदनलाई समेटेर समितिलाई पूर्णता दिइएको छ ।
बैठकले मगरात राष्ट्रिय समिति गण्डकी सञ्चालन कार्यविधि तथा निर्देशिका निर्माण कार्यदलसमेत गठन गरेको छ । मगरात राष्ट्रिय समन्वय समितिका इन्चार्ज निर्मल जिसीको संयोजकत्वमा खडक आले, छविलाल राना, सुस्मिता थापा, नरेश थापा रहेको समिति गठन गरिएको हो ।
बैठकमा पार्टीका गण्डकी प्रदेश समितिका सहइन्चार्जहरु धनप्रसाद तामाङ, खेमजङ गुरुङ, राजन केसी, तमुवान राष्ट्रिय समितिका इञ्चार्ज रूद्रबहादुर गुरुङ, सहइन्चार्ज देवबहादुर दुरा, मगरात राष्ट्रिय समितिका इञ्चार्ज छविलाल राना, केन्द्रीय सदस्यहरु पानबहादुर घर्ती, ज्ञानु आचार्य, सोमबहादुर नेपाली, गण्डकी प्रदेश समितिका अध्यक्ष गोपाल गुरुङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो । बैठकमा पहिचान झल्किने साँस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।














