
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भएको छ ।
आज (सोाबार) बिहान बसेको पदाधिकारी बैठकले बुधबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको पार्टीका महासचिव देव गुरूङले जानकारी दिए ।
बैठक पार्टीको आधिकारिक पेजबाट लाइभ हुनेछ । बैठकमा एउटा र बाहिर अर्कै प्रचार हुने भएकाले यसलाई रोक्न केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरिएको महासचिव गुरूङले बताए ।
केन्द्रिय समिति बैठक १७ देखि २१ गतेसम्म चल्नेछ । बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदन तयार पार्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिइएको महासचिव गुरूङले बताए ।
अध्यक्ष प्रचण्डले तयार पारेको प्रतिवेदनलाई १७ गते बिहान बस्ने स्थायी कमिटी बैठकले पारित गरी छलफलका लागि केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछ । त्यस्तै आगामी मंसिरसम्म पार्टीले विधान सम्मेलन गर्ने पनि पदाधिकारी बैठकले तय गरेको छ । केन्द्रीय समितिको बैठकमा एजेन्डा पेस गर्दै यसबारे थप निर्णय हुने शर्माले बताए । त्यस्तै पार्टीको विधानअनुसार केन्द्रीय समितिमा महिला प्रतिनिधित्व ३५ प्रतिशत पुग्ने पनि उनले बताए ।
यसपटक माओवादी केन्द्रीय समितिमा २३/२४ जना महिला सदस्य थपिनेछ । अब माओवादीको केन्द्रीय समितिमा कम्तीमा १४० जना महिला हुनेछन् भने माओवादीको केन्द्रीय समिति ४०७ सदस्यीय बन्नेछ ।
यसअघि सत्तासाझेदार दल नेपाली कांग्रेसले पनि केन्द्रीय समिति बैठक लाइभ गरेको थियो।














