काठमाडौं । फिफा महिला विश्वकप फुटबलको उपाधि दावेदार मानिएको स्पेनमाथि जापानले सानदार जित निकालेको छ । आज (सोमबार) भएको खेलमा जापानले स्पेनलाई ४-० गोेल अन्तरले पराजित गरेको हो ।

योसँगै एसियाली राष्ट्र जापान समूह विजेता बन्दै विश्वकपको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । हारका बावजुत स्पेन पनि समूहको उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ ।
जापानको फराकिलो जितमा हिनाता मियाजावाले दुई तथा रिको युकी र मीना तानाकाले समान एक गोल गरे । पहिलो हाफमा तीन गोल गरेको जापानले दोस्रो हाफमा एक गोल थपेको थियो ।
खेलको १२औं मिनेटमा हिनाता मियाजावाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाए । उनले जुन इन्डोको पासमा गोल गरेका थिए । २९औं मिनेटमा रिकोले गोल गर्दै जापानको अग्रता दोब्बर पारे । उनले मियााजावाको पासमा गोल गरेका थिए ।
४०औं मिनेटमा हिनाताले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि जापन पहिलो हाफमै ३–० को आरामदायी स्थितिमा पुग्यो ।
८२औं मिनेटमा मीना तानाकाले गोल गर्दै जापानलाई सानदार जित दिलाए । उनले मियावी मोरियाको पासमा गोल गरेका थिए ।
योसँगै अपराजित रहेको जापानले तीन खेलबाट ९ अंक बटुल्यो । जापानसँग पराजित स्पेन ६ अंक जोडेर दोस्रो स्थानमा रह्यो । यो समूहमा जाम्वियाले ३ तथा कोस्टा रिका अंकविहीन बनेर बाहिरियो ।
अब जापानले प्रि–क्वाटरफाइनलमा समूह ‘बी’ को उपविजेता नर्वेसँग तथा स्पेनले समूह ‘ए’ को विजेता स्वीट्जरल्यान्डसँग खेल्नेछ ।














