
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता थापाले सभामुख बाबुराम गौतमले राजीनामा दिने र आजै आफ्नो नेतृत्वमा बहुमतसहित नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने बताएका हुन् । साथै उनले कोशीमा राप्रपा सरकारमा सहभागी नहुने बताए ।
‘कोशीमा राप्रपा सरकारमा सहभागी हुँदैन । सभामुखले राजीनामा दिनुहुन्छ । र सत्ता गठबन्धनकै सरकार बन्छ । मेरै नेतृत्वमा बहुमतसहित दाबी गर्छौ,’ उनले भने । अदालतले आफूलाई नै काम चलाऊ मुख्यमन्त्री मानेको उल्लेख गर्दै उनले आफूलाई लिन गाडी तयार भए पनि लिन नमानेको बताए ।
सर्वोच्च अदालतले यसअघि थापा नेतृत्वमा बनेको सरकार संवैधानिक नभएका भन्दै साउन ११ गते बदर गरिदिएको थियो । त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न दलहरुलाई ५ दिनको समय दिएका थिए ।














