Logo
Logo

लालबहादुर विश्वकर्माले पाए सफाइ


20.9k
Shares

काठमाडौँ । बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लाल बहादुर विश्वकर्माले सफाइ पाएका छन् । उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मासहितका तीनजालाई सफाइ दिएको हो ।

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लाल बहादुर विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो ।

बिना इजाजत बैंक तथा वित्तीय कारोबारमा भने कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि सफाइ दिइएको छ । दीपक विश्वकर्माको हकमा भने बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा दोषी ठहर गर्दै सुनसरी जिल्ला अदालतकै फैसला सदर गरिएको छ ।

लालबहादुरलाई जिल्ला अदालत सुनसरीले गत पुसमा डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना र झण्डै तीन करोड रुपैयाँ बिगो भराउने फैसला गरेको थियो । उक्त फैसलाले उनलाई अन्याय भएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

गरिब परिवारका लालबहादुर १० वर्ष अघि खाडी मुलुक दुबई बसाईपछि नेपाल आएरदीपक गजमेरको परिवारले सञ्चालन गर्ने सिंहदेवी ज्वेलर्समा काम गर्न थाले । दीपकका परिवारसहित लालबहादुरविरुद्ध करोडौँ ठगीको आरोपमा २०७५ जेठ २० गते इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी पर्‍यो ।

उनले पसलमा आउने धेरैलाई तथा अन्य मानिसहरूलाई राम्रो ब्याज दिने भन्दै पैसा उठाउने गर्थे । उनले पास बुक नै बनाएर बचतका नाममा करोडौँ रकम उठाएका थिए । तर, ब्याजको आशले पैसा दिएकाहरूले ब्याज त परको कुरा सावाँ पनि फिर्ता पाएनन् । जति रकम जम्मा गरे पनि आजसम्म जम्मा गरेका व्यक्तिले कुनै रकम पाएका छैनन् ।

आफ्नो पैसा नउठ्ने संकेत पाएपछि पीडितहरू प्रहरी गुहार्न पुगे । पीडितहरूको जाहेरीपछि प्रहरीले कृष्ण विश्वकर्मा, दीपक विश्वकर्मा, सीता विश्वकर्मालाई पक्राउ गरेको थियो । सोही क्रममा लालबहादुर पनि पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्