
काठमाडौं । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज (बुधबार) पनि बस्दैछ। प्रस्तावित ६ राजदूतमाथि परेका उजुरीमाथि छलफल गर्न बिहान ११ बजे समितीको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।
आजको बैठकमा परराष्ट्रमन्त्री र ३ जना प्रस्तावित राजदूतलाई बोलाइएको समिति सदस्य ईश्वरी घर्तीले जानकारी दिइन् । हिजो (मंगलबार) बसेको समितीको बैठकमा सांसदहरूले प्रस्तावित राजदूतको सूची समावेशी नभएको भनेर प्रश्न उठाएपछि समितिका ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले परराष्ट्र मन्त्रीलाई बोलाउने निर्णय सुनाएका थिए।
बुधबारको बैठकमा समावेशिताको विषयमा परराष्ट्रमन्त्री एनपी साउदले जवाफ दिने सदस्य घर्तीले बताइन्। सरकारले अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा लोकबहादुर थापा, युनाइटेड अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतको लागि घनश्याम लल्साल, थाइल्याण्डका लागि धनबहादुर ओली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित स्थायी नियोगका लागि रामप्रसाद सुवेदीको नाम राजदूतमा सिफारिस गरिएको छ।














