
कैलाली । जुवा तास खेलिरहेको अवस्थामा डोटीका दुई वडा अध्यक्षसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार धनगढी उपमहानगरपालिका- ४ बसपार्कमा रहेको कलेल होटलबाट पूर्वीचौकी गाउँपालिका- २ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला र ५ का अध्यक्ष खडक साउदलाई जुवाको खालबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार पक्राउ पर्ने अन्यमा होटल सञ्चालक तेजबहादुर कलेल, सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी ३० वर्षीय सुजित खड्का, पूर्वीचौकी- ६ का पुरनबहादुर खड्का, देवबहादुर खड्का रहेका छन् ।
यस्तै गोदावरी नगरपालिका- ३ का ३२ वर्षीय कुवेर खड्का, पूर्वीचौकी(२ का धनबहादुर विष्ट, ३५ वर्षीय अमित बोहरा र दिपायल(सिलगढी नगरपालिका- ६ का अविनाश कठायतलाई पनि पक्राउ गरिएको छ ।
उनीहरुको साथबाट एक लाख ४ हजार ८१० रूपैयाँ नगदसमेत बरामद गरेको प्रहरलिे जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











