
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आज पुर्णता पाउने भएको छ । आज (बुधबार) मुख्यमन्त्री कमलबहादुर शाहले २ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेर सरकारलाई पुर्णता दिने तयारी गरेको हो ।
यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीका १ मन्त्री र १ राज्यमन्त्री तथा नेपाली कांग्रेसका एम जना मन्त्री नियुक्त हुँदैछन् ।
उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्रीको नाम टुंग्याएको छ । नागरिक उन्मुक्ति पार्टी संसदीय दलको आज बसेको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई पठाउने निणय गरेको दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।
यसअघि पनि नागरिक उन्मुक्तिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर र राज्य मन्त्रीमा कैलाशलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।
कांग्रेसले भने ४ बजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकमा मन्त्री टुंग्याउने कांग्रेसको तयारी छ । कांग्रेसले पनि आजै नाम टुंगो लगाउने र सरकार विस्तार गर्ने मुख्यमन्त्रीको तयारी छ ।














