Logo
Logo

राष्ट्र बैंकमा भद्रगोल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर शिवराज श्रेष्ठको छानबीनसँगै उनी स्वतः निलम्बन भएपछि कर्मचारीको आन्तरिक बढुवाको प्रक्रिया पनि अवरुद्ध भएको छ । पदपूर्ति समितिका सदस्य तथा जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले अनावश्यक बखेडा निकालेर कर्मचारीको नियमित बढुवा प्रक्रिया नै रोकिएको हो । अधिकृत प्रथमको बढुवामा सम्भावित उम्मेदवारमध्ये कार्यक्षमता नै नभएका केही उपनिर्देशकहरुलाई जसरी पनि बढुवा गर्नुपर्ने भन्दै उनले हलो अड्काएका हुन् । अन्य कर्मचारीलाई भन्दा भण्डारीले अडान लिएका उम्मेदवारलाई समितिले ९ अंक थप्दा पनि बढुवा गर्न गाह्रो हुने अवस्था रहेको समेत स्रोतको दाबी छ ।

आफूलाई उच्च व्यवस्थापनले अनुसन्धान विभागमा नराखेको, रुचि नै नरहेको अपजसिलो जनशक्ति व्यवस्थापन विभागमा थन्काएकोमा पनि उनले माथिल्लो निकायमा पटक पटक गुनासो गर्दै आएका थिए । विशेषगरी अब छिट्टै हुने कर्मचारी विनियमावली संशोधनमा ६० वर्षे उमेरमा अवकाशको व्यवस्था गरेसँगै विशिष्ट श्रेणीका कर्मचारीको अवधी ७ वर्षबाट घटाएर ५ वर्ष तोक्नुपर्ने गरी केही कर्मचारीले लबिङ गरेको झोंकमा भण्डारीले निहुँ खोजेको कर्मचारी बताउँछन् ।

बैंकमा पूराना र अनुभवी कर्मचारीको अभावमा सबै काम लथालिंग भएको छ । विशेषगरी आन्तरिक प्रशासनका कामहरूमा दखल राख्ने कर्मचारी नै नरहेकाले प्रशासनिक उल्झन्हरू एकपछि अर्को गरी देखिन थालेका छन् । जनशक्ति व्यवस्थापन विभागमा रहेका कार्यकारी निर्देशक र अन्य कर्मचारीको दैनिकी पछिल्लो वर्षदेखि आफू र आफ्ना मान्छेलाई जतिसक्दो धेरै विदेश यात्रा गराउनु मात्र देखिएको छ ।

बैंकको नियमानुसार कर्मचारीको बढुवा प्रक्रियामा दुईजना डेपुटी गभर्नर संलग्न हुनुपर्दछ । कथंकदाचित एकजना डेपुटी कारणवशः रिक्त भएमा उक्त स्थानमा वरिष्ठ कार्यकारी निर्देशक नियुक्त हुने व्यवस्था गरिएको छ । तर यसपटक श्रेष्ठको स्थानमा वरिष्ठताको आधारमा पछिल्लो एक महिना कार्यकारी निर्देशक तथा प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले प्रतिनिधित्व गरेपनि कर्मचारीको बढुवाको प्रक्रिया भने अघि बढेको छैन । अब उक्त स्थानमा अर्का कार्यकारी निर्देशक भुवन कँडेलले प्रतिनिधित्व गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्