काठमाडौं । अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यलय घेराउ गर्न पुगेका तामाङ कलाकारसहितका २८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना महिलासहित २८ जना रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारीले जानकारी दिए ।

परिसर प्रवेश गर्नेद्वारमा अवरोध र्पुयाएको र त्यहाँबाट हटाउन खोज्दा ढुंगामुढा समेत गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी अधिकारीले बताए । उनीहरूले अधिवक्ता पाण्डेलाई तुरुन्त पक्राउ गर्नुपर्ने बताएका थिए । परिसरले बुधबार बिहानै पाण्डेलाई पक्राउ गरी बयान लिइरहेको पनि डिएसपी अधिकारीले बताए ।
उनका अनुसार तामाङ समुदायलाई होच्याएर अभिव्यक्ति दिएको भन्दै नेपाल तामाङ घेदुङका तर्फबापत कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । यही क्रममा आन्दोलन गर्न पुगेका तामाङ कलाकारले परिसरको कार्यलय घेरेपछि स्थिति तनावग्रस्त बनेको थियो । भीड नियन्तण गर्न प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ ।














