काठमाडौं । बैंकिङ कसुर र ठगी मुद्दामा जेल परेका इटहरी उपमहानगरपालिका– १९ ब्रह्मपुरका लालबहादुर विश्वकर्मा बुधबार रिहा भएका छन् ।
जिल्ला अदालत सुनसरीको फैसलापछि करिब नौ महिना झुम्का कारागारमा रहेका श्रमिक विक बुधबार दिउँसो कारागारबाट मुक्त भएका हुन् ।

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको मंगलबारको संयुक्त इजलासको आदेशसँगै उनी थुनामुक्त भएका हुन् । जिल्ला अदालत सुनसरीको गत १९ पुस ०७८ को आदेश उल्ट्याएर मंगलबार नै उच्चले थुनामुक्त गर्न आदेश दिएको थियो ।
लालबहादुर रिहाई भएको हेर्न तरहरा आसपासका उनका आफन्त र छिमेकी, इटहरी र झुम्काका सर्वसाधारण्को बाक्लो भीड कारागार परिसरमा थियो । त्यहाँ जम्मा भएकाहरुले लालबहादुर निर्दोष हुन् भन्दै विगतमा दबाबमूलक कार्यक्रम पनि गर्दै आएका थिए । छोरालाई लिन लालबहादुरका ७० वर्षीय बुवा हर्कबहादुर र ६८ वर्षीया आमा सीता पनि झुम्का कारागार पुगेका थिए ।
नौ महिनाअघि जिल्ला अदालतले लालबहादुरलाई बैंकिङ कारोबार मुद्दामा तीन करोड १४ लाख बिगो, ठगी मुद्दामा ७० हजार जरिवानासहित एक वर्ष ६ महिना जेलसजाय सुनाएको थियो ।














