Logo
Logo

ओलीको आरोप- सरकार आफैं सुन तस्करीमा लाग्यो


1.4k
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँ सुन तस्करीमा लागेको आरोप लगाएका छन् ।
वामपन्थी नेता तुलसीलाल आमात्यको २६औँ स्मृति दिवसका अवसरमा बुधबार एमाले पार्र्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले सरकार आफैँ दैनिक एक क्विन्टल सुन तस्करीमा लागे आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘मजदुरी गर्न विदेश गएको एक सर्वसाधारण १० वर्षपछि घर फर्किँदा आमालाई ल्याएको सिक्री एयरपोर्टबाट खोसेर लान्छ सरकार । तर, दिनको क्विन्टल सुन तस्करी गराउँछ यो सरकारले ।’ उनले प्रश्न गर्दै भने, ‘कसले गराउँछ यो ? किन बसेको त त्यहाँ ? तनखा खुवाएर किन मान्छे राखेको ?’

सुन तस्करीको उच्चस्तरीय छानबिन समिति बनाउँभन्दा सरकारले नमानेको समेत बताउँदै ओलीले भने, ‘किन मान्दैन सरकार ? हामी छानबिन गर्दैछौँ भन्छ । उहाँहरु आफैँ मुछिनुभएको छ । त्यो सिग्रेटमा ल्याएको साढे नौ किलो सुन जफत गरेर राखिएको थियो । तर, गोदामबाटै हरायो भनेर अहिले सुन्छु ।’

अध्यक्ष ओलीले सुन तस्करीबारे संसदमा गृहमन्त्रीको जवाफ सुनौँभन्दा समेत नमानेको बताए । पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यत्रो तस्करी हुँदासमेत कांग्रेस पार्टी चुइँक्क बोल्न नसकेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गर्दै ओलीले भने, ‘म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई भन्न चाहन्छु । देउवाजी तपाईँले क्विन्टल क्विन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन ? के छ तपाईंको विचार ?’

उनले एमालेबाहेक अरूले देश चलाउनै नसक्ने दाबी गर्दै भने, ‘सकेन नि । दश टाउके भएर पनि चलाएनन् । हामी हुँदा त्यत्रो कोभिड हुँदा पनि देश तहसनहस हुन दिएका थिएनौँ । हामी हुँदा ३,४ लाख विदेश गएका थिए अहिले ११ लाख गएका छन् । त्यति धेरै मान्छे विदेश गएपनि १० खर्ब रेमिट्यान्स पनि आउँदैन ।’

अध्यक्ष ओलीले देशलाई माया गर्ने र परिवर्तनकारी शक्तिहरु सानातिना कुरा छोडेर पार्टीमा आउन आग्रह गर्दै भने, ‘आउनुस् परिवर्तनका लागि एकजुट भएर अघि बढ्नुपर्छ । एमाले राष्ट्रिय शक्ति बन्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्