काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भाषणैपिच्छे भ्रष्टाचारका फाइल खोतल्ने र कसैलाई नछाड्ने उद्घोष गर्दै आएका छन् । भ्रष्टाचारमा मुछिए वा दोषी ठहरिए आफ्नै पार्टीका मान्छेले समेत उन्मुक्ति नपाउने बारम्बार दोहो¥याउँदै आएका छन् ।
गएको साता पुष्पलाल स्मृति दिवसको अवसरमा उनले भनेका थिए– ‘तथ्य÷प्रमाणले भेटेसम्म सबैलाई कानूनको दायरामा ल्याउने हो, चाहे जोसुकै होस् । माओवादी, कांग्रस, एमाले, समाजवादी कुनै पार्टीको मतलब छैन । सबै कानूनको अगाडि कि भ्रष्टाचारी हुन् कि होइनन् । कि दोषी हुन् कि होइनन् ।’
तर, नौ किलो सुन तस्करीमा जोडिएका पूर्वसभामुख तथा नेकपा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि भने अहिलेसम्म अनुसन्धान अघि बढेको छैन । सुन तस्करीमा महरा बाबुछोरा कनेक्सन रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदनमा किटान हुँदासमेत उनीहरूमाथि अनुसन्धान भएको छैन ।

उनीहरूमाथि न प्रहरीले सोधपुछ गरेको छ, न त गृहमन्त्री श्रेष्ठले नै चासो देखाएका छन् । जसले गर्दा गृहमन्त्री श्रेष्ठको व्यवहारमाथि नै प्रश्न उठ्न थालेको छ । महरा बाबुछोरालाई सोधपुछसम्म नगर्नु आफ्नो पार्टीका नेता भएकाले गृहमन्त्रीले योजनाबद्ध उन्मुक्ति दिन खोजेको देखिन्छ ।
विद्युतीय चुरोट ‘भेप’मार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ तस्करसँग माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख महरा र उनका छोरा राहुलको कनेक्सन देखिएको छ । उक्त सुन तस्करीमा चिनियाँ नागरिकसँग नेता महरा र राहुलले पटकपटक सम्पर्क गरेको प्रहरी अनुसन्धानले देखाएको छ । तर, तस्करमा संलग्न चिनियाँ नागरिक पक्राउ परेपनि महरा बाबुछोरा ऐसआरामले हिँडिरहेका छन् ।
सीआईबीको प्रतिवेदनले सुन तस्करी प्रकरणमा महरा बाबुछोराको कनेक्सन देखिएपनि उनीहरूमाथि छानविन नगर्नुले सामाजिक सञ्जालमा गृहमन्त्रीको चर्को आलोचना हुँदै आएको छ । तर, उक्त विषयमा गृहमन्त्री श्रेष्ठ मौन छन् । आफ्नो भाषण नै पिच्छे तस्करी र भ्रष्टाचारीलाई तह लगाउने बताउँदै आएपनि उनले महरा बाबुछोरोको ‘म’ सम्म उच्चारण गरेका छैन । त्यसैले गृहमन्त्री श्रेष्ठमाथि विपक्षी तर्साउने र आफ्नालाई जोगाउने बाटोमा लागेको आरोप लाग्न थालेको छ ।
के हो भेप प्रकरण ?
२०७९ पुस १० गते फ्लाइ दुबईको उडानबाट चिनियाँ नागरिक ली हानसोङ काठमाडौं आएका थिए । उनले आफ्नो लगेजमा ७३ वटा प्याकभित्र ७३० वटा विद्युतीय चुरोट ‘भेप’ ल्याएका थिए ।
व्यापारिक प्रयोजनका लागि अवैध ढंगले ल्याएको भन्दै उक्त भेप अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा जफत गरियो । त्यसमै राखेर सुन ल्याइएको थियो । विमानस्थलका सुरक्षा गार्ड निर्मल विकले भेपभित्र सुन रहेको पत्ता लगाएका थिए ।
त्यसपछि भन्सारको गोदाममा रहेका ती भेपबाट सुन झिकेर बिक्री गरिएको थियो । ९ किलो ११.५२४ ग्राम सुन भन्सारको गोदामबाटै चोरेर बिक्री गरिएको थियो । यो प्रकरणमा भन्सारका कर्मचारी नै संलग्न रहेको अनुसन्धानका क्रममा पुष्टि भएको थियो ।
उक्त सुन प्रकरणमा सीआईबीले करिब दुई महिना लगाएर अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । काठमाडौँ जिल्ला अदालतले साउन २ गते यो मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै भन्सारका कर्मचारीसहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।
जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले भन्सारका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सुरक्षागार्ड निर्मलकुमार विक र व्यापारीहरू वेदप्रकाश अग्रवाल र सोहब राय पाण्डुरङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
यो प्रकरणमा ९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकोमा पक्राउ परेका अमृत कार्की धरौटीमा रिहा भएका छन् भने दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा फरार छन् ।
कसरी जोडिए महरा बाबुछोरा ?
भेप जफत भएपछि कृष्णबहादुरका छोरा राहुलले विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई सम्पर्क गरी लिलामीको प्रक्रिया अगाडि बढाइदिन आग्रह गरेका थिए । यसरी चिनियाँ नागरिक हानसोङले भेप भनी तस्करी गरी ल्याएको सुन छुटाउन नेता महराका छोरा राहुलले चासो दिएकामा सीआईबीले उनीहरूको कनेक्सन खोजेको थियो ।
प्रारम्भिक अनुसन्धानबाट यो प्रकरणमा महरा बाबुछोराको पनि संलग्नता रहेको खुलेको थियो । सीआईबीले सुन ल्याउने समूह, सुन किन्ने समूह र भन्सारबाट सुन चोरेर बेच्ने समूह भनेर तयार पारेको प्रतिवेदनमा महरा बाबुछोराको नामसमेत उल्लेख छ ।
अदालतमा दायर अभियोग पत्रमा भनिएको छ– ‘सुन ल्याउने समूहमा रहेका दुई जना चिनियाँ नागरिकसँग कृष्णबहादुर महरा र राहुल महराको पनि सम्पर्क भएको देखिन्छ । दुवैको सम्पर्क मुक्तिप्रसाद श्रेष्ठसँग रहेको, निजहरूको सम्पर्क सुन बेचबिखन गर्ने समूहका मानिस र अन्य प्रतिवादीहरूसँग रहेको देखिन आएकोमा निजहरू फरक–फरक समूहमा रही, आफ्नो–आफ्नो आपराधिक जिम्मेवारी बमोजिम सम्पर्क स्थापित गरी नेपाल सरकारको गोदाममा रहेको दुई वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट बेची संगठित रूपमा आपराधिक विश्वासघात गरेको स्पष्ट हुन्छ ।’
आफ्नै अनुसन्धान प्रतिवेदनमा महराका बाबुछोराको ‘कनेक्सन’ देखिएपनि सीआईबीले थप अनुसन्धान गरेन । अनौठो त के भने, सीआईबीले आफ्नो अनुसन्धान प्रतिवेदनमा महरा बाबुछोरालाई मुद्दा चलाउन सिफारिससमेत गरेन । उनीहरूलाई किन मुद्दा चलाउन सिफारिस गरिएन भन्ने सीआईबीका अधिकृतहरूलाई समेत थाहा छैन ।
महरा बाबुछोरापछि माओवादीका अन्य नेताहरूमाथि पनि प्रश्न उठेको छ । करिब एक क्वीन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, उनका छोरा दीपेश पुन, माओवादी उपमहासचिव वर्षमान पुन र उनकी पत्नीसमेत रहेका पूर्वसभामुख ओनसरी घर्तीसँगका तस्बिर सार्वजनिक भएको थियो । त्यस फोटोले माओवादी उनीहरूमाथि प्रश्न उठिरहेको छ ।
यद्यपि, सँगै खाना खाएको र फोटो खिचाएकै आधारमा कारोबारमा संलग्न भएको भन्नु अन्याय हुने भन्दै नेता पुनले आफू दोषी ठहरिए जस्तोसुकै कारबाही भोग्न तयार भएको बताइसकेका छन् । एकपछि अर्को नेता सुन प्रकरणमा मुछिन थालेपछि प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोटो खिच्दा सजग अपनाउन निर्देशन दिएका छन् ।
सुन प्रकरणमा जोडिएका केही व्यक्ति माओवादी नेतासँग सम्पर्कमा रहेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नेदेखि निष्पक्ष छानबिन वा न्यायिक समिति बनाउनुपर्ने अडान लिएर सदन अवरोध गर्दै आएको छ ।
सत्तारूढ दलका नेतासमेत जोडिएको विषयमा सरकारबाट निष्पक्ष अनुसन्धान नहुने भन्दै एमालेले संसदीय उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आइरहेको छ ।














