
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुनकाण्ड चलिरहेको बेला अर्को काण्ड आउने दाबी गरेका छन् । बिहीबार प्रेस युनियन काठमाडौं शाखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो बताएका हुन् । भ्रष्टाचारमा ठूलाठूला मान्छे मुछिएपछि भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण सेलाएको उनको भनाई थियो ।
‘भ्रष्टाचारले देश गाँजेको छ । छानविन प्रभावित पार्न एकपछि अर्को इस्यु ल्याइएको छ । पहिला भुटानी शरणार्थी आएको थियो, अघि बढ्यो अनि रोकियो । त्यसपछि ललितानिवास आयो । त्यसमा पनि त्यस्तै छ,’ उनले भने, ‘अब सुन काण्ड आएको छ, त्यो पनि यसै सामसुम हुन्छ । किनभने, कोही न कोही ठूला मान्छे इन्भल्भ हुन्छन्, अनि रोकिन्छ ।’
त्यस्तै उनले सुनकाण्डमा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धानले मात्रै छानविन गर्नु अचम्म लाग्दो बिषय भएको भन्बदै सुन तस्करी प्रकरणको अनुसन्धानबारे प्रधानमन्त्रीमाथि नै शंका गर्नुपर्ने अवस्था रहेको बताए ।
‘सुनकाण्डमा रोचक के छ भने सीआईबी संलग्न छैन । राजस्व अनुसन्धान मात्रै इन्भल्ब छ । सीआईबी इन्भल्ब नहुनु इन्ट्रेस्टिङ छ । राजस्व अनुसन्धान पहिला अर्थ मन्त्रालयको अण्डरमा हुन्थ्यो, केपी शर्मा ओलीजी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याउनुभयो । शेरबहादुरजी आइसकेपछि फर्काउनु भएन, अहिले प्रधानमन्त्रीजीले पनि फर्काउनुभएको छैन । त्यहाँ डिजी जो हुनुहुन्छ, सुनकाण्डभन्दा ७ दिन पहिला प्रधानमन्त्रीको पिए हुनुहुन्थ्यो । के हुँदैछ, कहाँ पुग्न खोज्दैछौँ ?, उनले प्रश्न गर्दै भने ।














