Logo
Logo

सुन तस्करीमा ओलीका विश्वासपात्र खनाल पनि छानबिनमा




काठमाडौं । हङकङबाट हुँदै नेपालमा हुँदै आएको सुन तस्करीमा पक्राउ परेका चिनियाँ मुलका नागरिक दावा छिरिङको माओवादीका नेतासँगै केही प्रहरी अधिकारीसँग पनि कनेक्सन देखिएको छ । उनलाई प्रहरी अधिकारीले संरक्षण दिदै आएको पाइएको छ ।


हाल केपी ओलीका विश्वासपात्र बनेका पूर्वआइजिपी सर्वेन्द्र खनालसँग दावाको निकटता देखिएको छ । खनाल आइजिपी हुँदा दावासँग खिचेको फोटो नै भेटिएको छ । दावाले खनाललाई आइजिपी हुन आफुले लगानी गरेको र अन्य प्रहरीको बढुवामा पनि सघाउँदै आएका बताएका छन् ।


दावाको माओवादी नेताहरु नन्दबहादुर पुन, वर्षमान पुन लगायतसँग निकटता देखिएको छ । नेतामाथि पनि छानबिनको माग यतीबेला भइरहेको छ । खासगरी एमालेले यो विषयलाई चर्काेसँग उठाइरहेको छ । तर, आफ्नो पार्टीमा आबद्ध खनालसँग दावाको सम्बन्धलाई भने एमालेले लुकाउन खोजेको छ । यसमा केही एमाले निकट व्यवसायीको पनि कनेक्सन भेटिएको स्रोत बताउँछ । सोही कारण पनि उसले फौजदारी अपराधमा सरकारी निकायलाई अनुसन्धान गर्न नदिई संसदीय समितिको माग गरिरहेको छ ।


खनाल ओलीको विश्वासपात्र भएकै कारण २–२ पटक टिकट पाएका थिए । पछिल्लो पटक उपनिर्वाचनमा एमाले पुराना नेतालाई पन्छाएर तनहुँमा ओलीले खनाललाई उठाएका थिए । खनालको आर्थिक पक्ष नै उनले टिकट पाउने बलियो आधार भएको एमालेभित्रै चर्चा हुने गरेको छ । खनालले भने फोटो खिच्ने बाहेक दावासँग निकटता नभएको दाबी गर्दै आएका छन् । केही माओवादी नेताकै छोराहरुले चिनियाँ गिरोह र खनालबीच सेटिङको काम गरेको स्रोत बताउँछ । तर, यसअघि एक सय २२ जना चिनियालाई पक्राउ गर्ने क्रममा दावालाई प्रहरीले नै जोगाएको र त्यसपछिका विभिन्न अपराधमा पनि उनको कनेक्सन देखिदा पनि उनीमाथि कारबाही हुन सकेको थिएन । कतिसम्म भने गत वर्ष सिआइबीले उनले नागरिका र पासपोर्टको विषयमा छानबिन गरेकोमा दबाबकै कारण छानबिनको फाइल रोकिएको थियो । यसबाट दावाको अन्य उच्च प्रहरी अधिकारीसम्म सेटिङ पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्