काठमाडौं । सरकारले मातातीर्थ–माल्टा ३३ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत काठमाडौं, ललितपुर र मकवानपुर क्षेत्रमा चार हजार रुख काट्न स्वीकृति दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोजनाको टावरप्याड र राइट अफ वेको निर्माणका लागि काठमाडौं, ललितपुर र मकवानपुर जिल्लामा रहेको राष्ट्रिय वन र बन क्षेत्रको कुल जम्मा २४.६७ हेक्टर जग्गा आगामी २० वर्षसम्म प्रयोग गर्न दिने र सो क्षेत्रबाट ४ हजार १७२ वटा रुख हटाउन स्वीकृति दिने निर्णय सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हु्न् ।
मन्त्रिपरिषदको बैठकले कमला–ढल्केवर पथलैया सडकखण्ड स्तरोन्नतिका लागि सडक सीमाभित्र पर्ने घररटहरा लगायतका संरचनाहरु प्राप्ति गरी क्षतिपूर्ति दिई हटाउन स्वीकृति दिने निर्णय गरेको पनि सञ्चारमन्त्री शर्माले जानकारी गराइन् । साथै, बैठकले काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत ललितपुर जिल्लाको खोकना इलाकाको जग्गा प्राप्तिसम्बन्धी समस्या समाधान गर्न गठित समितिको म्याद थप गर्ने निर्णय गरेको छ ।
सरकारले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । मंगलबारको बैठकले सो समितिको म्याद तीन महिना थप गरेको हो ।














