Logo
Logo

महिला काण्डमा राष्ट्रसेवक, कर्मचारी प्रशासनको छवीमा दाग


16.9k
Shares

काठमाडौं । समाजमा उदारणीय हुनुपर्ने राष्ट्रसेवक कर्मचारी नै एकपछि अर्काे ठूला काण्डमा फसिरहेका छन् । सरकारी कर्मचारीहरू भ्रष्टाचार मुद्दामा पर्नु नौलो रहेन, पछिल्लो समय महिला काण्डमा समेत पर्न थालेका छन् ।

प्रहरीदेखि उच्च सरकारी कर्मचारीहरू यतिबेला महिला काण्डमा परिरहेका छन् । यसले कर्मचारी र प्रहरीको छवि समाजमा झन् झन् बिग्रदै गएको छ । गत साता मात्र कर्मचारीका दुई काण्ड बाहिर आए ।

उपसचिव हरिकुमार पोखरेल आफ्नै घरमा काम गर्न बसेकी किशोरीमाथि यौनशोषणको आरोपमा पक्राउ परे भने, दमक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका उपसचिव डम्बरुप्रसाद निरौला सरकारी निवासभित्रै अनैतिक गतिविधिमा संलग्न भएको भिडियो सार्वजनिक भएपछि विवादमा परे ।

पछिल्लो समय सचिवहरू समेत फौजदारी मुद्दामा पक्राउ परेर निजामती कर्मचारीको छवि धुमिल भइरहेका बेला यी दुई घटनाले कर्मचारीको शिर निहुरिएको छ । यसले समग्र कर्मचारी प्रशासनकै छवीमा दाग लागेको छ ।

मध्यपहाडी लोकमार्ग आयोजनामा कार्यरत उपसचिव पोखरेलले सिनामंगलस्थित घरमा नै आफुलाई पटक पटक बलात्कार गरेको पीडित युवतीको दाबी छ । आफुलाई यौन दुव्र्यवहार गरेको भिडियोसमेत उनले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी थिइन् । त्यसपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

सुरुमा घटना शंस्कापद देखिएपछि प्रहरीले अनुसन्धानमा ढिलाई गरेको थियो । तर, मिडियाको दबाबपछि प्रहरीले पोखरेललाई शुक्रबार पक्राउ गरेको छ ।

पोखरेलका परिवारले भने युवतीले सुनियोजित रुपमा फसाएको बताएका छन् । युवतीले आफुलाई घर नै दिए मात्र मिलापत्र गर्ने भन्दै बार्गेनिङ गरेको पोखरेलको परिवारले आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा लाइभ नै आएर पटक पटक फन्डा गर्नुले युवतीको नियतमाथि प्रश्न गर्ने ठाउँ छ । तर, सामाजिक सञ्जालमा आएको भिडियोका आधारमा पोखरेलले युवतीलाई दुव्र्यवहार गरेको भने प्रष्ट हुन्छ । युवतिले घर मागेको भन्ने आरोपको सामाजिक सञ्जालबाटै खण्डन गरेका छन् ।

त्यसो त पोखरेल ठिक चार वर्षअघि घुससहित पक्राउ परेका कर्मचारी हुन् । पोखरामा सिनियर डिभिजन इन्जिनियर हुँदा नौ लाख रुपैयाँ घुससहित पक्राउ परेकोमा पछि विशेष अदालतबाट सफाई पाएका थिए । अहिले अर्काे गम्भीर घटनामा उनी थुनामा परेका छन् ।

उता, दमकका प्रमुख प्रशासकीय अधिकृत निरौलाका कारण कर्मचारीहरू लज्जित भएका छन् । एक युवतीलाई आफ्नो क्वार्टरमा राखेर मदिरा सेवन गरी अश्लील हर्कत गरिरहेको भिडियो भाइरल भइरहेको छ । ती किशोरीले नै टिकटकमा लाइभ बसेर भिडियो सार्वजनिक गरेकी हुन् । निरौला पनि मदिराको नशामा भएकाले लाइभ गरेको थाहा पाएनन् ।

निरौलामाथि अझै कारबाही हुन सकेको छैन । तर, सामान्य प्रशासन मन्त्रालयले निरौलालाई मन्त्रालय तानेको छ । यस्ता गम्भीर घटना बाहिर आउँदा पनि निजामती कर्मचारीमाथि कारबाही हुने प्रणाली बनेको छैन । सोही कारण पनि निजामती कर्मचारीहरू अनुशासनमा कमजोर हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्