काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार दुईजना पदाधिकारीले धारणा राखेका छन् । सोक्रममा उनीहरुले पार्टीलाई जोगाउनपर्ने जोड दिएका छन् ।

बैठकमा आफ्नो धारणा राख्र्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विचार, दृष्टिकोण र योजना मुख्य हुनुपर्ने बताए । उनले भने, ‘पार्टीमा जायज प्रश्न उठाउन पाउनुपर्छ । कानुनभन्दा माथि कोही छैन ।’ उनले शान्ति सम्झौता अनुमोदन भैसकेकाले द्वन्द्वकालिन मुद्दा उचाल्न नमिल्ने बताए ।
उपाध्यक्ष सापकोटाले भने, ‘अध्यक्ष प्रचण्डमा असाधारण क्षमता छ । उहाँले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई जोगाउने ल्याकत राख्नुहुन्छ । अहिलेको कठिन परिस्थितमा पनि पार्टी जोगाउने प्रचण्डमात्र हो ।’
यस्तै, बैठकमा सचिव डिलाराम आचार्यले आफ्नो धारणा प्रस्तुत गदै पार्टी समाजनुकुल चल्न सक्नुपर्ने बताए । उनले भने, ‘पार्टीमा रुपान्तरणको मुद्दा उठिरहन्छ । विगतमा ठूला परिवर्तन भए । तर, जनताको जीवन बदल्न सकिएन ।’
बुधबारदेखि जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुलाई आफ्नो धारणा राख्न पाँच मिनेटको समय दिइएको छ । बैठक आइतबारसम्म चल्ने छ ।














