काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एक क्विन्टल सुन प्रकरणको छानविन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकमा शनिबार आफ्नो धारणा राख्दै उनले छानविन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् ।

उक्त सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पुनको तस्बिर सार्वजनिक भएका छन् । बैठकमा केन्द्रीय सदस्यहरूले सुन काण्डमा मुछिएका नेताहरूले मिडियामा विज्ञप्ति जारी गरेर नहुने भन्दै सीआईबीमा निवेदन दिनुपर्ने धारणा राखेका थिए । जवाफ उपमहासचिव पुनले दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन तयार रहेको बताए ।
यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोड्ने चेतावनी दिएका थिए । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै प्रमाण भेटिए पार्टीका नेतालाई समेत कारबाही गर्ने बताए । एक क्विन्टल सुन तस्करी प्रकरणमा माओवादी नेताहरु समेत जोडिएको भन्दै छानविन गर्न माग उठ्दै आएको छ ।
शुक्रबारको बैठकमा माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरामाथि समेत छानविन गर्नुपर्ने आवाज उठेको थियो । तर, भनेजस्तो व्यवाहारमा आफ्ना नेतामाथि अनुसन्धान गर्न चासो नखिएको गृहमन्त्रीमाथि आरोप लाग्न थालेको छ ।














