Logo
Logo
माओवादी केन्द्रीय समिति बैठक

प्रचण्डलाई जनार्दनको प्रश्न- अध्यक्ष कमरेड कुनचाहिँ मोडमा मेरो समर्थन पाउनुभएन ?


17.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका हुन् ।

बुधबारदेखि सुरु भएको बैठकमा शुक्रबारसम्म एक सय ४२ जनाले उक्त प्रस्तावमा आधारित रहेर धारणा राखेकोमा बाँकी सदस्यहरुले शनिबार धारणा राखिरहेका हुन् । धारणा राख्न प्रत्येक सदस्यलाई ५ मिनेटको समय निर्धारण गरिएको छ ।
धारणा राख्नेक्रममा उपमहासचिव जनार्दन शर्मा आफूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई असहयोग नगरेको भन्ने विषयमा प्रस्टीकरण दिए ।

उनले भने, ‘अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउँदा, जतिखेर पनि खटनपटनमा लागेकै छु । स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर तैँले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भएपनि त्यसको पालना गरेको छु ।’

परिस्थिति अदल बदल गर्नुपर्दा र संकट आइपर्दा अध्यक्षको पक्षमा खडा हुँदै आएको बताउँदै उनले भने, ‘होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर, त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ ।’ उनले अध्यक्ष प्रचण्डमाथि प्रश्न गर्दै भने, ‘अध्यक्ष कमरेडले भन्नुपर्यो– कुनचाहिँ अप्ठेरो मोडमा तपाइँले मेरो साथ र समर्थन पाउनु भएन ?’

यस्तै, उपमहासचिव वर्षमान पुनले आफ्नो बाँकी जीवन पार्टी र मुलुक निर्माणमै लगाउने प्रतिबद्धता व्यक्त गर्दै हाल पार्टी पुनर्निर्माणको चरणमा रहेको बताए ।

सरकारको राम्रो काम पार्टीभित्रको शुद्धीकरणको अभियान रहेको बताउँदै उनले भने, ‘हामी पार्टी विघटनको होइन, पुनर्निर्माणको चरणमा छौँ । सरकारले राम्रो काम गरिरहेको छ । सरकारको भ्रष्टाचार विरोधी अभियान हामी सबैको शुद्धीकरणको अभियान हो ।’

यस्तै, केन्द्रीय सदस्य कुलप्रसाद केसीले आफ्नो धारणा राख्दै पार्टीमा सहकर्मी सहयोद्धाका बीचमा निषेधात्मक र दुष्मनीपूर्ण सम्बन्ध हुनु दुस्खद् रहेको बताए । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्य तथा पदाधिकारीले पार्टीलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्यका साथै अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ । केन्द्रीय सदस्यहरुको बोल्ने समय अपुग देखिएपछि बैठक लम्बिन सक्ने भएको छ । त्यसका लागि आजै साँझ निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्