Logo
Logo

प्रेस स्वतन्त्रतालाई असर पार्ने कानुन बन्दैन : कानुनमन्त्री



काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रेस स्वतन्त्रतालाई असर पर्ने कुनै पनि कानुन नबन्ने बताएका छन् ।

शनिबार यहाँ नेपाल प्रेस युनियनको आयोजना र एफइएसको सहयोगमा आयोजित ‘प्रस्तावित सूचना तथा सञ्चार विधयेक’बारे छलफल कार्यक्रममा उनले आफू प्रजातन्त्रवादी भएकाले पनि मिडियालाई नियन्त्रण गर्ने विधयेक र कानून बन्छ भन्ने सोच्नसमेत नसक्ने बताएका हुन् ।

उनले भने, ‘मिडियाभन्दा पनि सोसल मिडियामा देखिएको अराजकतालाई नियन्त्रण गर्ने विषयमा छलफल भएको हो । यद्यपि मिडियालाई नियन्त्रण गर्ने छलफल भएको मलाई जानकारी छैन ।’ उनले यस विषयमा आफूपनि गम्भीर भएको भन्दै प्रजातन्त्र स्थापनामा मिडिया क्षेत्रको भूमिका नभुलेको बताए । ‘छलफलमा भएका विषयलाई सुधार गर्न सकिन्छ । गलत हुने कुरालाई रोक्न म तयार छु’, उनले भने ।

युनियनका अध्यक्ष शिव लम्सालले छलफलबाट निस्किएको निष्कर्ष नेपाल सरकारलाई बुझाउने बताए । उनले भने, ‘सुझाव लिने, समिति बनाउने तर त्यसलाई कार्यान्वयन नगर्ने देखिएको छ, त्यसलाई कार्यान्वयन गर्न जरुरी छ । पत्रकारलाई ढुक्कसाथ पत्रकारिता गर्न रोक्न बनेका कानूनलाई सरकारले परिमार्जन गर्न जरुरी छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा युनियनका सल्लाहकार तारानाथ दाहालले आमसञ्चार क्षेत्रको कानूनी सुधारका लागि नेपाल प्रेस युनियनको भूमिका विषयमा चर्चा गरे । कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेलसँगै महासंघका पूर्वअध्यक्षहरू हरिहर विरही, किशोर नेपाल, धर्मेन्द्र झा, नेपाल प्रेस युनियनका पूर्वअध्यक्षहरू उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्