
म्याग्दी । केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्डको बैसरीमा सडक अवरुद्ध भएको छ ।
बेनी–जोमसोम–कोरला–कालिगण्डकी करीडोर सडक आयोजना अन्तर्गतको रघुगङ्गा गाउँपालिका –३ बैसरीमा सडक माथिबाट शनिबार आएको पहिरोले सडक अवरुद्ध भएको हो ।
वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेका कारणले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने पर्यटकलाई समस्या भएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रघुगङ्गा गाउँपालिका –१ र २ को सिमानाबाट झरेको पहिरोले रघुगङ्गा –३ बैसरीमा सडक अवरुद्ध भएको जानकारी दिए।
सडक खुलाउन प्रहरी तथा बेनी–जोमसोम–कोरला सडक आयोजनाको टोली खटेको भए पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुलाउन पनि जोखीम भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवरले बताए ।
हिजो रातिदेखि नै सडक अवरुद्ध भएको छ, आज खुल्ने सम्भावना न्यून छ उनले जानकारी दिए । म्याग्दीको सदरमुकाम बेनी जोड्ने बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बागलुङ सडक भने सुचारु अवस्थामा रहेको प्रनाउ कुँवरले बताए ।














