काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण सेप्टेम्बरमा हुने बताएका छन् । उनले प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बर तेस्रो वा चौथो हप्तातिर गर्नेगरी तयारी भइरहेको बताएका हुन् ।

छिमेकी देशहरुका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युपियन युनियनहरुसँगको मित्रवत सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको उनको भनाइ छ ।
कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मन्त्री साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडि बढाएको बताए ।
परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको बताउँदै उनले विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको र वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको उनले बताए ।
सरकारले बायोमेट्रिक लगायतका कामहरु सरकारको एक कार्यलयमा गरेपछि पुग्ने व्यवस्थाका लागि छलफल गरिरहेको बताउँदै उनले सरकारी कार्यालयपिच्छे बायोमेट्रिक गर्नुपर्ने अवस्थाले आर्थिक र समय धेरै लाग्ने गरेको बताए ।














