काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय समितिको आइतबारको बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो ।

अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिनेछ । अभियानअन्तर्गत अध्यक्ष प्रचण्ड सातवटै प्रदेशका ७ वटा वडामा जाने भएका छन् । त्यहाँ गएर उनले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नेछन् । अध्यक्ष प्रचण्डले पाँच दिनसम्म चलेको केन्द्रीय समिति बैठक सोचेभन्दा सजीव र जीवन्त रुपले सम्पन्न भएकोमा आफूलाई खुसी लागेको बताए ।
उनले भने, ‘यो बैठकमा बहसहरु भए । बहस र छलफलबाट हामी नयाँ सम्भावना र निष्कर्षमा सफलताका साथ आइपुगेका छौँ । हाम्रो पार्टीको नेतृत्वमा सरकार छ । यो सरकारले सुशासन, सामाजिक न्याय र सम्मृद्धितर्फ लैजाने काम गरेर जनतामा नयाँ भावना जगाएको छ ।’
बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले बैठकले पार्टीभित्रका विभिन्न प्रश्न, अन्योल, आशंका र नेतृत्वबीचका अन्तरमा खुलेर छलफल गर्ने काम भएको भन्दै जनवादको उच्चतम थलोका रुपमा बैठक रुपान्तरण भएको बताए ।
अध्यक्ष प्रचण्डले बैठकको निष्कर्ष सुनाउँदै भने, ‘हामी नयाँ अभियानसहित जनतामा जाने निष्कर्षमा पुगेका छौँ । जनतासँग माओवादी विशेष अभियान भनेर जनतासँग जोडिने र ६ हजार ७ सय वडामा पुगेर तीनमहिने अभियान चलाउने निष्कर्षमा पुगेका छौँ ।’ उनले आफू पनि सातवटै प्रदेशमा एक–एक वडामा पुग्ने घोषणा गरे ।
उनले भने, ‘म पनि सातवटा प्रदेशका सात वटा वडामा पुगेर जनताको भावना बुझ्ने र सबै केन्द्रीय सदस्य वडामा पुग्ने निष्कर्ष यो बैठकले गरेको छ ।’ त्यसक्रममा जुनसुकै पार्टीमा आस्था राख्ने भएपनि देशभरका कुनैपनि घरपरिवार नछोडि जनताका घरमा पुग्ने प्रचण्डले बताए ।
‘एउटा पनि जनताको घर नछोड्ने, सहिद बेपत्ता, सबै घर परिवारसँग तीन महिने अभियान चलाएर विधान सम्मेलनमा फर्कनेछौँ’ अध्यक्ष प्रचण्डले भने । बैठकपछि पार्टी एकढिक्का भएको सबैमा महशुस भएको उनले बताए ।














