Logo
Logo

प्रहरीमाथि नै भएको कुटपिटमा किन भएन जाहेरी दर्ता ?




काठमाडौं । फुटबलका राष्ट्रिय खेलाडी भरत शाह नेपाल प्रहरीका नायब निरीक्षक(सइ) रितेश थापाको कुटाईबाट गम्भीर घाइते भएको घटनामा जाहेरी दर्ता हुन सकेको छैन । प्रहरी नै पीडित बनेको घटनामा समेत जाहेरी दर्ता नभएपछि प्रश्न उठेके छ ।


खेलाडी शाह नेपाल प्रहरीकै सहायक हवल्दार हुन् । हाल बिएण्डबी अस्पतालमा उपचार गराइरहेका उनका दाई मनोज शाहले प्रहरी वृत्त मालीगाउँमा कुटपिटमा संलग्नविरुद्ध जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको छ । उनले रितेशसहित प्रहरीकै वरिष्ठ सई अनन्तराज थापाविरुद्ध समेत जाहेरी दिएका छन् । अनन्त र रितेश पनि राष्ट्रिय टिमका पूर्व खेलाडी हुन् ।
घटना गत १० साउनको हो । रितेशले नै भरतलाई भत्केको पुल छेउको झिर रेष्टुरेन्टमा बोलाएका थिए । अनन्तको अष्ट्रेलियाको भिसा लागेको अवसर भनेर सो पार्टी आयोजना गरिएको थियो । दुवै जनाले त्यहाँ बियर पिएका थिए । पछि विवाद भएपछि रितेशले बियरका बोतलले भरतको टाउकोदेखि शरिरका विभिन्न भागमा आक्रमण गरेका हुन् । शरिरमा १८ टाँका लगाएका भरत अहिलेसम्म अस्पतालमै छन् । उनको हातको समेत अप्रेसन गरिएको छ । उनका दाई मनोजका अनुसार त्यही रहेका अनन्तराज थापाले समेत आक्रमणका लागि उस्काएकाले उनीविरुद्ध समेत जोहरी दिइएको हो । हत्या नै गर्ने उदेश्यले त्यसरी आक्रमण भएको भन्दै ज्यान मार्ने उद्योग मुद्दामा मनोजले जाहेरी दिए पनि दर्ता भएको छैन ।


प्रहरीले रितेशलाई निलम्बन भने गरिसकेको छ । उनलाई निलम्बन गरी यस विषयमा थप छानबिन भइरहेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए ।


प्रहरीले आन्तरिक रुपमा घटनाको छानबिन गरिरहेको छ । दुवै जना प्रहरी कर्मचारी भएकाले छानबिनपछि फौजदारी कारबाहीको विषयमा अघि बढाउन लागिएको एक उच्च प्रहरी अधिकारी बताउँछन् । आन्तरिक छानबिन चलिरहेकाले जाहेरी दर्ताको विषयमा निर्णय भइनसकेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की बताउँछन् । स्रोतका अनुसार जाहेरी दर्ताका लागि परिसरले प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको सहमति खोजेको छ । पीडित शाह र आरोपी दुवै प्रहरी प्रतिष्ठान अन्र्तगत कार्यरत छन् ।


आरोपी रितेश यसअघि म्याच फिक्सिङ प्रकरणमा पक्राउ परी पछि अदालतबाट सफाई पाएका खेलाडी हुन् । कानूनको अभाव देखाई अदालतले उनीहरुलाई सफाइ दिएको थियो ।


पछिल्लो घटनाको विषयमा प्रहरी एकेडेमीले एसएसपी बेलबहादुर पाण्डेको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्