
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत चन्द्रागिरीको भालेश्वर महादेवको दर्शन गरेका छन् । अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत साउनको चौथो सोमबार पुर्जा गर्न चन्द्रागिरी पुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
‘आज श्रावणको चौथो सोमबार चन्द्रागिरीस्थित श्री भालेश्वरनाथ महादेवको दर्शन गर्दै । मन्दिरका महन्थज्यू, कार्यकारिणी प्रबन्धकज्यू तथा सुरक्षा अधिकारीहरूलाई हार्दिक अभिवादनको लागि धेरै धेरै धन्यवाद,’ उनले लेखेका छन् ।
ओशो सन्यासी समेत रहेको नेता राउत पछिल्लो समय धर्म कर्ममा व्यस्त हुन थालेका छन् । आइतबार मात्रै उनी काठमाडौँको साँखु सालीनदीमा धार्मिक कार्यक्रममा सहभागी भएका थिए । ओम बोल बम काँवरिया संघले गरेको बोलबम यात्रामा सहभागी भई मन्तव्य दिएका थिए ।














