काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् ।
प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरूमा आपत्ति जनाउँदै प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रुपमा आन्दोलनको घोषणा गर्दै देशभर विद्यालय बन्द गर्ने घोषणा छन् ।

उनीहरूले मंगलबार पत्रकार सम्मलेन गर्दै बुधबार पालिका/जिल्ला प्रशासन कार्यालय/शिक्षा विकास तथा समन्वय इकाइ र प्रदेश मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, बिहीबार मस्यौदाको विरोध प्रदर्शन गर्ने, शुक्रबार सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने, आ–आफ्ना सङ्गठनमा समीक्षा बैठक गर्ने र शनिबार देशैभरका अनिश्चितकालीन विद्यालय बन्द गर्ने, भदौ १ गते अनिश्चितकालीन विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरू सार्वजनिक स्थलमा पार्किङ गर्ने घोषणा गरेका छन् ।
विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्न खोजिएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ– ‘संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा ‘विधेयक निजी लगानी तथा व्यवस्थापनमा सञ्चालन भएका शैक्षिक प्रतिष्ठानहरूको अस्तित्व नामेट पर्ने उद्देश्यबाट अभिप्रेरित भएको ठहर छ ।’















